पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
SamacharDesk | २०८० माघ ४, बिहिबार

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०७९ का लागि मनोनयन सार्वजनिक गरिएको छ ।
बुधबार एक कार्यक्रमबिच अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको २०औं संस्करणमा पिपल्स च्वाइस विधाका पाँच मनोनयनको नाम सार्वजनिक गर्दै दुई पुरुष र तीन महिला खेलाडीलाई मनोनयनमा समावेश गरेको छ ।
आगामी माघ २८ गते हुने अवार्डको पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ । मञ्चले यसअघि माघ १२ गते तय भएको अवार्ड कार्यक्रम प्राविधिक कारणले माघ २८ गतेका लागि सारिएको जानकारी पनि दिएको छ ।
पहिलोपटक मनोनयमा पर्ने शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् ।
शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् ।
पिपल्स च्वाइस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जालबाट मत र ओलम्पिक कमिटीमा आबद्ध २७ खेल सङ्घका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
जसमा ई–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, प्रमुख प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । भोटिङ बुधबारबाट सुरु भई माघ २७ गतेसम्म खुला रहनेछ ।
अवार्डको अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् ।
अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चले जनाएको छ ।
Categorized in स्पाेर्ट्स