arin enterprises

रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमा हटाइने

SamacharDesk – Ram Dangol | २०७९ चैत्र १५, बुधबार

निकै विरोध र वादविवादपछि अन्ततः कीर्तिपुरमा रातो मच्छिन्द्रनाथ बुँगद्यः र जिवित देवी भनिने याकः मिसा (एक्ली केटी)को प्रतिमूर्ति नराखिने भएको छ ।

प्यंगथाँमा स्थापना गरिएको उक्त मूर्तिका कारण परम्परादेखि चल्दै आएको रितिरिवाजमै असर पर्ने देखिएको थियो । पाटन महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी तथा सरोकारवाला नियकाहरु ३२ पानेजु संघ, सांस्कृतिक अभियन्ता, गुठी संस्थान ललितपुर र सुखी गछेँ समाज कीर्तिपुरको उपस्थितिमा मंगलबार बसेको बैठकले प्यंगथाँमा स्थापना गरिएको मच्छिन्द्रनाथसँगै कुमारी केटीको मूर्ति नराखिने निर्णय गरेको हो ।

अब दुवै मूति त्यहाँबाट हटाएर गुठी संस्थाको जिम्मा लगाउने र गुठी संस्थानले आफ्नो बन्द कोठामा सुरक्षित राख्ने प्रस्ताव ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका छन् । यसो गर्दा प्यंगथाँबाट झिकिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिको इतिहास गुठी संस्थानमा सुरक्षित रहने उनले बताए । 

मंगलबार ललितपुर महानगरपालिकाको सभाकक्षमा बसेको बैठकमा विवाद बढ्दै गएपछि रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरुको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएनन् भने यसपालिको जात्रामा आफूहरु फूल प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिएको थियो ।

प्यगथाँकी जीवित देवी याकः मिसालाई फूल प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुुरानो भएको जनविश्वास छ । रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ ।

 आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र याकः मिसालाई फूल र प्रसाद चढाउने परम्परा चलिआएको छ । रातो मच्छिन्द्रनाथ र याकः मिसाको सम्बन्धबारे अनेकौं किंवदन्ती प्रलचित छन् ।

तीमध्ये कीर्तिपुरमा प्रचलित किंवदन्तीअनुसार याकः मिसालाई रातो मच्छिन्द्रनाथकी प्रेमिका मानिन्छ । याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन् । तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव थिएन ।

उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो । त्यसैले हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्केका थिए । 

सोही अनुरुप आजसम्म पनि रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुनुभन्दा चार दिन अगाडि फुल लिएर भेट्न जाने परम्परा रहिआएको छ ।

यसरी हरेक वर्ष मिलनको रुपमा भेट्न जाने परम्परा विपरीत प्यंगथाँका स्थानीयहरुले याकः मिसासँगै मच्छिन्द्रनाथको मूर्ति स्थापना गरेपश्चात सो इतिहासै मेट्न अवस्थामा पुगेको थियो ।

हिजो भएको बैठकबाट उक्त मूर्तिहरु हटाउने र गुथी संस्थानलाई जिम्मा लगाउने निर्णय भएपश्चात हाम्रो परम्परा र इतिहास मेट्नबाट जोगिएको छ । 

Categorized in समाज