arin enterprises

लामिछाने विरुद्ध उजुरी

SamacharDesk | २०७९ आषाढ ८, बुधबार

हिजो मात्रै स्वतन्त्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उहाँले स्वतन्त्र शब्द राख्न नमिल्ने भन्दै दुईवटा उजुरी निर्वाचन आयोगमा परेको छ ।

रविको पार्टीका कारण स्वतन्त्र उमेदवारी घोषणा गरेका वा स्वतन्त्र उमेदवारीको तयारी गरेका स्वतन्त्र व्यक्ति समूह÷संस्थालाई गम्भीर आघात पुगेको अभियानको निष्कर्ष छ ।

मङ्गलबार लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पार्टी दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार अभियानका संयोजक इम्बर शाहुले आयोगमा उजुरी दिनुभएको छ । संयोजक शाहुले दिनुभएको उजुरीमा स्वतन्त्र शब्द हटाउन माग गर्नुभएको छ ।

‘‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।,’’ उजुरीमा लेखिएको छ ।

त्यस्तै काभ्रेका मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उनीहरूले स्वतन्त्र शब्दको आफ्नै महत्व भएको र आफूहरू स्वतन्त्र उम्मेदवारी दिने अभियानमा रहेकाले कुनै पार्टीको नाममा स्वतन्त्र हुन नहुने तर्क गरेका छन् ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।

Categorized in राजनीति