arin enterprises

बेलिंघमको गोलमा रियल विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ९, शनिबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शुक्रबार राति रियलले सेल्टा भिगोमाथि १–० को जित निकालेको हो ।

रियललाई जिताउन जुड बेलिंघमले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गरेको गोलले रियललाई जित दिलाउन पर्याप्त बन्यो ।

योसँगै बेलिङघमले रियलका लागि तेस्रो खेलमा चार गोल पुरा गरे ।

यसअघि सेल्टाले खेलको सुरुवातमै अग्रता बनाएको थियो । तर भीएआरबाट जोर्डनको गोलले मान्यता पाएन ।

दोस्रो हाफमा रोड्रिगोको पेनाल्टीलाई सेल्टाका किपर इभान भिलरले रोकेपछि रियलले गोलको अवसर गुमाएको थियो ।

भिनिसियस जुनियरले चोट बोकेपछि रियललाई खेलमा धक्का लागेको थियो । ह्यामस्ट्रिङ बल्झिएपछि उनले खेलको १८ औं मिनेटमा मैदान छाडे ।

रियल ३ खेलमा ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

सेल्टा भिगो १ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स