arin enterprises

काठमाडौं महानगरका क्षतिग्रस्त सम्पदा निर्माण/पुर्ननिर्माणले गति लिदैँ

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ३१, बुधबार

२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा २२ वटु टोलमा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (देवता घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

नासःद्यः द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित हुनुभएको थियो । 

क्षमापुजामा सहभागी काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । 

‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यहाँका  कला, संस्कृति र सम्पदा  संरक्षणका लागि निकै ठूलो भूमिका खेल्दै आएका छौँ,’ खड्गीले भनिन्, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख, म आफैँ, वडाध्यक्ष र प्रत्येक वडाका जनप्रतिनिधि पनि सम्पदा संरक्षणको अभियानमा अहोरात्र खटिरहेका छौँ ।’ 

उपप्रमुख खड्गीले काठमाडौं महानगरभित्र थुप्रै सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको जानकारी दिनुभयो । 

क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य र उपप्रमुख खड्गीको साथै संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य, २२ वडाका अध्यक्ष चिनकाजी महर्जन, गुठीका सदस्यलगायतको उपस्थिति थियो । 

 

एक करोड २५ लाखमा पुर्ननिर्माण हुँदै वटुको नासःद्यः द्यःछेँ

भूकम्पले द्यःछेँ पूर्णरुपमा क्षति भएपछि वटु नाट्यश्वर गुठीले कामचलाउ रुपमा पुर्ननिर्माण गरी पूजा–आजा गर्दै आएका थिए । 

क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुर्ननिर्माण गर्न त्यहाँ रहेका सामान सार्नुपर्ने र द्यःछेँ समेत भत्काउनु पर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नुपर्ने परम्परा अनुसार उक्त पूजा गरी पुर्ननिर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिनुभयो ।

पुरात्वात्विक तथा अभिलेखको संरक्षण गर्ने काम नाट्यश्वर गुठीले गर्दै आएको छ । 

‘काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यज्युले गुठीले संरक्षण गरिरहेको गुठीघरमा रहेका पुरात्वात्विक महत्वका र अभिलेखको संरक्षण गर्न हामीलाई आग्रह गर्नुभएको छ’, गुठीका अध्यक्ष महर्जनले भन्नुभयो ।

निर्माण कार्यको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेको पनि महर्जनले जानकारी दिनुभयो । 

‘साउनको दोस्रो हप्ताबाट मन्दिर पुर्ननिर्माणको काम अघि बढ्छ,’ महर्जनले भन्नुभयो, ‘निर्माणपछि त्यहाँ बत्ती, धारा र पुरात्वात्विक महत्वलाई झल्काउने खर्च गुठीले व्यहोर्ने भन्ने छ ।’ 

आगामी आर्थिक वर्षको असोज मसान्तसम्ममा द्यःछेँ पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नासःद्यः पुर्ननिर्माणका लागि करीब १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।

Categorized in स्थानीय