arin enterprises

कमलपोखरी पुनर्निर्माण चैत मसान्तसम्ममा सम्पन्न हुने

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र ५, बिहिबार

कमलपोखरीको पुनर्निर्माण आउँदो चैत मसान्तसम्ममा सम्पन्न हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको जनाएको हो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले अब केही दिनमै कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

‘पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ । अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौं ।’

प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको दावी गर्नुभयो ।

‘संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका हौँ, पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो’ शाक्यको भनाई हो ।

डिजाइनको बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न शाक्यले आग्रह गर्नुभयो ।

उहाँले हल्ला गरिएजस्तै पोखरीको बिचमा कंक्रिटको कमलको फूल नरहेको स्पष्ट गर्नुभयो । पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारीत भएर निर्माण भइरहेको उहाँको दावी हो ।

कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने पनि जानकारी दिनुभयो । क

सैले व्यक्तिगत स्वार्थ राख्दै अवरोध नगर्ने हो भने यहि चैत भित्रमा पोखरी पुननिर्माणको पहिलो चरण सम्पन्न हुने उहाँको दावी छ ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिनुभयो ।

करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको काठमाडौँ महानगरपालिका वडा नम्बर–१ स्थित कमलपोखरीको पुर्ननिर्माण करीब ६ करोड ३६ लाखको लगानीमा भइरहेको महानगरपालिकाले जनाएको छ ।

Categorized in स्थानीय