रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो
SamacharDesk – शिवेश शर्मा | २०७७ भाद्र २२, सोमबार

रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो
रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको छ । आज बिहान ९ बजेतिर पाटन मंगलबजारस्थित मणिमण्डप पाटीमा ज्योतिषहरु बसेर मछिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको हो ।
पाटनका ज्योतिष दैवज्ञ, गुठी संस्थानका हाकिम, बाराही समाज, आदिका प्रतिनिधिहरूको उपस्थितिमा साइत निकालिएको हो ।
आज निकालिएको साइत अनुसार मछिन्द्रनाथलाई भाद्र २९ गते सोमबारका दिन बुंगमति प्रस्थान गराइनेछ ।
बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलबाट प्रकाशित जात्राको तालिकामा सम्भवत २६ गते मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराइने भनिएतापनि सो दिन साइत नभएकोले सो कार्य २९ गते मात्रै गरिने भएको हो ।
साधारणतया मछिन्द्रनाथको साइत बिहिबार हेरिन्थ्यो । यस पटक भने सोमबार सो कार्य गरिएको हो ।
ललितपुरवासीले आज भुज्याः पनि मनाए
यसैसँगै हिजो रथ तानेर जात्रा गरिएपछि ललितपुरवासीहरुले आजै भूज्याः मनाएका छन् । हिजो रथ तानिएसँगै छ्वयलाभू मनाएका थिए ।
हिजो ललितपुरका १९ वटा जातीय खलःपुचःको संलग्नतामा मछिन्द्रनाथलाई रथलाई रथको घःमाः राखिने सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।
नेपालकै लामो जात्राको रुपमा लिइने यस जात्रामा विगतका वर्षहरुमा पहिलो दिन पुल्चोकबाट गाःबहालसम्म रथ तान्ने गरिन्थ्यो भने पछि क्रमशः रथलाई तानेर नुगःयाः, लगंयाः, याकः मिसा भुज्याः, नरिवल जात्रा गर्दै जाउलाखेलमा तानेर भोटो जात्रासँगै जात्रा सम्पन्न हुने गर्दथ्यो ।
र जुन दिन जुन ठाउँमा रथ तानिन्थ्यो, सो दिन सोही ठाउँका वासिन्दाले छ्वयलाभू मनाउँथे भने भोलिपल्ट भुज्याः मनाउने गर्थे ।
तर यसवर्ष कोभिड १९ को जोखिमका कारण रथलाई पुल्चोकबाट केही पर सोर्हखुट्टे पाटीसम्म मात्र तानेर रथ जात्राको औपचारिकता पुरा गरिएको थियो ।
दशैंसम्ममा मच्छिन्द्रनाथ बुंगमति पुग्नुपर्छ
दशैँको समयमा नवमी पूजा गर्दा मछिन्द्रनाथ बुंगमतिमा नै हुनुपर्ने मान्यता छ । त्यसैले घटस्थापनाका दिन जमरा रोप्दा नै देवता बुंगमति पुग्नुपर्ने कथन छ ।
दशैँसम्ममा मछिन्द्रनाथको रथयात्रा नसकेको खण्डमा भक्तपुर लग्नुपर्ने किंबदन्ती पनि समाजमा रहेको छ ।
यसपटक जात्रा अनिश्चित रहँदा मच्छिन्द्रनाथलाई भक्तपुर लग्ने वहस पनि सामाजिक संजालमा चर्केको थियो ।
तर मछिन्द्रनाथका मृदंग भजन मण्डलका केशव कृष्ण श्रेष्ठ भने यो कुरा मान्न तयार हुनुहुन्न ।
‘मछिन्द्रनाथ भक्तपुर लगिने कुरा कहिँ कतै लेखिएको भेटिएको छैन’ श्रेष्ठको भनाई छ । ‘हामीसँग भएको मछिन्द्रनाथको वंशावली किताबमा मछिन्द्रनाथसंग सम्बन्धित सबै किंबदन्तीहरू छन् तर भक्तपुर लगिने कुरा छैन ।’
Categorized in संस्कृति