कडा सुरक्षा घेराबीच मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न
SamacharDesk – बिराज | २०७८ जेठ १, शनिबार

विश्व प्रशिद्ध ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आज कडा सुरक्षा घेराबीच पुल्चोकमा सम्पन्न भएको छ ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सांकेतिक रुपमा रथ तानेर जात्रा सम्पन्न गरिएको थियो ।
रथ बनाइने स्थान पुल्चोकको दमकलदेखि मन्दः फल्चासम्मको छोटो दुरीमा रथ तान्दै सांकेतिक रुपमा रथयात्रा सम्पन्न गरिएको थियो ।
रथ तान्नका लागि स्थानीय प्रशासनबाट अनुमति पाएका सिमित संख्याका मानिसहरुमात्र पुल्चोकमा भेला भएका थिए ।
जात्रा अवधिमा भीडभाड हुन नदिनका लागि करीब ५ सयको संख्यामा शसस्त्रसहित नेपाल प्रहरी परिचालन गरिएको थियो ।
आउँदो ५ गते मच्छिन्द्रनाथलाई रथबाट ओराली बुंगमति फिर्ता लगिनेछ ।
भाेटाे जात्रा भने यस वर्ष पनि नहुने भएकाे छ ।
मच्छिन्द्रनाथको रथ पुल्चोकमा रहुन्जेल भीडभाड हुन नदिन आउँदो ५ गते बेलुकी १० बजेसम्मका लागि पुल्चोक र आसपासका क्षेत्रमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गर्दै ५ जनाभन्दा बढि भेला नहुन भनेको छ ।
गत वर्ष मच्छिन्द्रनाथको रथारोहणपछि रथयात्रा अनिश्चित हुँदा झडपकै स्थिती बनेको थियो ।
यो वर्ष पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको अवस्थामा स्थानीय जातीय संगठन, सम्वन्धित गुठीयार, सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय सांसदसमेतको छलफलबाट सांकेतिक रुपमा रथयात्रा सम्पन्न गर्ने निर्णय गरिएको थियो ।
Categorized in संस्कृति