arin enterprises

चाइनीज संस्थाबाट गोकर्णेश्वरका विद्यार्थीहरुलाई सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ २८, शुक्रबार

नेपालमा कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी रहँदा समस्यामा परेकालाई चाइनजी संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोगलाई निरन्तरता दिइरहेको छ ।

यसै क्रममा फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । फाउन्डेसनले सफा सुनौलो नेपालसँगको सहकार्यमा आपतकालीन समुदाय खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो ।

निषेधाज्ञाबाट प्रभावित भई समस्यामा परेका वागमती प्रदेशका विभिन्न चार वटा विद्यालयका ४२७ जना विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न प्रदान गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित श्री खगेन्द्र माध्यामिक विद्यालय नारायणटारमा सम्पन्न कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुलाई दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरिएको थियो ।

फाउन्डेसनले निम्न आय भएका र दैनिक ज्याला मजदुरी गरी जीविका चलाउनुपर्ने परिवारलाई सहयोग गर्ने उद्देश्यसहित कार्यक्रम संचालन गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले वर्तमान परिस्थितीमा चाइनाबाट पाएको सहयोगको लागि कृतज्ञता पोख्दै विषम परिस्थितीमा महामारी नियन्त्रणका लागि अझ सशक्त ढङ्गले अघि बढ्न उत्साह दिएको बताउनुभयो ।

त्यस्तै गोकर्णेश्वर वडा नम्बर ६ का वडाध्यक्ष रमेश अर्यालले सबैलाई संयमित भई धैर्यताका साथ बसेर संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

फाउन्डेसनका नेपाल निर्देशक झाउ छियाङले नेपालको विभिन्न क्षेत्रमा निम्न आय भएका एक लाख बढि परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

फाउन्डेसनले नेपालमा संक्रमणको पहिलो लहरमा पनि वागमती प्रदेशको साथै प्रदेश २ का विभिन्न स्थानमा विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो । त्यस्तै विभिन्न अस्पताल तथा आइसोलेसनमा पनि विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको छ ।

Categorized in समाज