arin enterprises

स्पेनिस फुटबल महासंघका अध्यक्ष रुबियालेसको राजीनामा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २५, सोमबार

स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् ।

महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि अध्यक्ष रुबियालेसले २० दिनपछि राजीनामा दिएका हुन् ।

गत मंगलबार ३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै कानुनी उजुरी दिएकी थिइन् । इंग्ल्यान्डलाई हराएर विश्व विजेता बनेको स्पेनीस महिला टिमको चुम्बनका कारण विवादित बनेपछि स्पेनको सफलता छायामा पारेको थियो । 

व्यापक आलोचना गर्दै राजीनमा माग भए पनि रुबियालेसले राजीनामा दिन बारम्बार बेवास्ता गर्दै आएका थिए । रुबियालेसले चुम्बन “आपसी र सहमति“ भएको दाबी गरे पनि फुटबलको विश्व प्रशासनिक निकाय फिफाले अस्थायी रूपमा उनलाई निलम्बन गरेको थियो ।

विश्वकप विजेतासहित ८१ खेलाडीले रुबियालेस आफ्नो स्थानमा रहँदा राष्ट्रिय टोलीबाट नखेल्ने बताएका थिए । राजनीतिज्ञ, फुटबलर र सेलिब्रेटीहरु रुबियालेसको विरुद्धमा बोलेका थिए ।

यस्तै प्रदर्शनकारीहरु गत साता उनको राजीनामा माग गर्न महासंघको मुख्यालयमा भेला भएका थिए । रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताए ।

४६ वर्षीय रुबियालेसले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् ।

स्पेनको कानुन अनुसार यौन दुर्व्यवहारको आरोपमा जरिवानादेखि चार वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

Categorized in स्पाेर्ट्स