‘ख्वाय् दाजु’ रेवन्त लालको ‘ह्याउँ ख्वाः मिसा’ सार्वजनिक
SamacharDesk – बिराज | २०७७ माघ २६, सोमबार

उनलाई धेरैले ख्वाय् दाजु भनेर चिन्छन् । हो उनी हुन् ईमेज च्यानल टेलिभिजनको नेपालभाषाको लोकप्रिय कार्यक्रम ‘समयबजि’ का ख्वाय् दाजु, रेवन्तलाल श्रेष्ठ । उनी समयबजिमा हास्य कलाकारको रुपमा देखा पर्छन्, केही म्यूजिक भिडियोहरुमा अभिनय पनि गरेका छन् । म्यूजिक भिडियोमा पनि कमेडि आर्टिस्टकै रुपमा देखिने गर्छन् ।
नेपालभाषाको कला क्षेत्रमा उनको पहिचान नै एक हास्य कलाकारको रुपमा स्थापित छ । यद्यपि उनले हास्यकाे साथमा गम्भीर भूमिका पनि नेपालभाषाका चलचित्रहरुमा आफुलाई प्रस्तुत नगरेका भने होइनन् । जे भनेपनि उनी एक कलाकार, एक अभिनेता ।
तर हालै उनले आफ्नो एक छुट्टै पहिचान प्रस्तुत गरेका छन् । उनले गीत पनि गाएका छन् । वरिष्ठ संगीतकार विष्णु जल्मिको रचना र संगीतमा रेवन्त लालले ‘ह्याउँ ख्वाः मिसा’ गीत गाएका हुन् । गीतको संगीत संयोजन संगीतकार जल्मिकै नाती जिवीत जल्मिले गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरियो । वरिष्ठ गायक जुजुकाजी रंजितले म्यूजिक भिडियो सार्वजनिक गर्नुभयो ।
‘विष्णु जल्मी दाईले यो गीत धेरै अगाडी नै बनाइराख्नुभएको रहेछ, हास्यप्रधान गीत भएकोले उहाँको नाती जिवीतले मलाई गाउनलाई भन्नुभयो, सक्दो मेहनत गरेको छु, अब अरु कुरा दर्शक, श्रोतको हातमा छोडें’ रेवन्तलालले भने ।
सार्वजनिक गरिएको गीत परिकल्पनाकार र निर्देशक समयबजि कार्यक्रमकै निर्देशक सुरेन्द्र मानन्धरले गरेका छन् ।
म्यूजिक भिडियोकोबारे निर्देशक मानन्धरले यस्तो भन्छन्, ‘सम्पत्ति, रुप जे सुकै भएपनि मायाप्रेम भएन भने, श्रीमान श्रीमतिबीच कलहको वातावरण हुनसक्छ, दुई दम्पतिबीच अरुभन्दा प्रेम हुनुपर्छ । यहि गम्भीर विषयलाई रमाईलो प्रस्तुति दिन खोजेको छु ।’
म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा बोल्दै नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न असंबरेले गीत र गीतको भिडियोले मनोरन्जनको साथमा सामाजिक सन्देशसमेत प्रवाह गरेको विचार राख्नुभयो ।
भिडियोको छायाङ्कन आयुष महर्जनले गरेका छन् भने दृश्य सम्पादन इन्द्र मानन्धरको रहेको छ । भिडियोमा गायक रेवन्त लालको साथमा रबिता बके श्रेष्ठ, सना शाक्य, सुरेश मानन्धर, दिब्यरत्न बज्राचार्य, लक्ष्मीनाथ मोदगलिया र निर्देशक मानन्धर आफैले पनि अभिनय गरेका छन् ।
Categorized in पेजथ्री