त्रिशुली नदीमा ३५ जनालाई रिभरगाइड तालिम
SamacharDesk – बिराज | २०८० कार्तिक २५, शनिबार

त्रिशुली नदीमा रिभरगाइड तालिम सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले संयुक्त रुपमा तालिमको संचालन गरेको थियो ।
तालीममा जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्य रहेको थियो ।
तालिम समापनको अवसरमा नाराका निर्वतमान अध्यक्ष गंगाप्रसाद नेपालले नेपालमा जल पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएको जनशक्तिको अभाव परिपूति गर्न तालिम सहयोगी हुने बताए ।
तालीमले स्वदेश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने तथा देशमे स्वरोजगार बन्न चाहनेका लागि समेत फलदायी हुने नेपालको भनाई थियो ।
जल पर्यटन क्षेत्रमा जनशक्तिकाे अभाव हुन नदिन बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको नेपाल पर्यटन बोर्डकी प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।
देशैभरीबाट सहभागिताको लागि आव्हान गरि तालिम सञ्चालन गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए ।
तालिमका सहभागीहरुले तालिम व्यवहारिक भएको र यसले आफुहरूमा काम प्रतिको आत्मविश्वास बढाएको बताए ।
दुई सातासम्म सञ्चालन भएको तालिममा सातै प्रदेशका ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालीममा रिभर गाईड तथा राफ्टिङको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
तालीममा नदीहरुको जानकारी, फोहरमैला व्यवस्थापन, राफ्टिङ सञ्चालन, आइपर्ने जोखिम र यात्रुको सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक कमलबहादुर ठकुरीले जानकारी दिए ।
Categorized in समाज