सडकदेखि संसदसम्म “मुर्रा”
SamacharDesk – राम डंगोल | २०८० जेठ ३०, मंगलबार

यतिबेला सडकदेखि सदनसम्म एउटै चर्चाले ठाउँ पाएको छ, “मुर्रा” राँगा ।
भारतले नेपाललाई उपहार स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ वटा मुर्रा जातका राँगा दिने निर्णय गरेपछि यसको चर्चा परिचर्चा निकै भएको देखिन्छ । यतिबेला बालकदेखि वृद्धसम्म, सडकदेखि सदनसम्म सबैको मुखमा “मुर्रा” शब्द झुण्डिएको देख्न सकिन्छ ।
कुरो गत शुक्रबारको, मेरो घरको अगाडि चोकमा युवाहरु फुटबल खेलिरहेका थिए । ती फुटबल खेलिरहेका युवाहरुको मुखमा पनि त्यहि “मुर्रा” नै झुण्डिएको थियो । फुटबल खेल्ने क्रममा आफ्नो टिमको साथीलाई बल पास गर्दा पनि “अ मुर्रा यता यता, ओए “मुर्रा” भन्दै खेल्ने गरेको देखें ।
अझ रमाइलो कुरा त के छ भने दुवै टिमले प्रतिद्वन्द्वीको गोलपोष्टमा गोल गर्यो भने “मुर्रा” भन्दै सबै उफ्रेर रमाउँथे । उनीहरुको देखासिकी गरेर साना बच्चाहरु समेत उनीहरु सँगसँगै “मुर्रा, मुर्रा” भन्दै रमाइरहेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण पूरा गरेर फर्किसकेका छन् । भारत भ्रमणको सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रष्ट मार्गचित्र तय गरेको बताए ।
हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग महत्वपूर्ण भेटघाट भएको र सो अवसरमा दुई देशबीचका व्यापार पारवाहन, ऊर्जा प्रवद्र्धन, दीर्घकालीन ऊर्जा व्यापार र भारतीय भूमि हुँदै बंगलादेशसम्म विद्युत निर्यात गर्ने लगायत विषयहरूमा सहमति भएको जानकारी दिइएको छ ।
यसबीच भारतले नेपाललाई सहयोगस्वरुप दिने भनेको १५ वटा मुर्रा जातको राँगाले हाम्रो देशको सडकदेखि सदनसम्म तताएको छ । अहिले प्रतिनिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटकाबारे बहस हिजो अर्थमन्त्री प्रकाशसरण महतले जवाफ दिएपछि टुंगिएको छ ।
तर सदनमा बजेटको विषयमा बहस हुनुको सट्टा केही बैठकमा प्रधानमन्त्रीलाई भारतले दिने भनिएको मुर्रा राँगाको विषयमै निकै चर्काचर्की भयो ।
नेपालमा एउटा प्रवृत्ति नै भनौं या परम्परा, देशलाई फाइदा हुने, देशको हितमा हुने राम्रै काम भए पनि प्रतिपक्षीहरु त्यसको विपक्षमा उभिनै पर्ने, त्यसको विरोध गर्नैपर्ने, सदन अवरुद्ध गर्नैपर्ने प्रवृत्ति छ । जसको ताजा उदाहरण अहिले मुर्रा राँगाको विषयलाई लिन सकिन्छ ।
मुर्रा राँगाको कुरा गर्ने हो भने नेपालमा राँगाको नश्ल सुधार गर्नका लागि विगत सात वर्षदेखि प्रयास भइरहेको रहेछ । यसपालि प्रमको भारत भ्रमणको अवसरमा राँगा नेपाल ल्याउन सफल भएको छ ।
नेपालले भारतबाट राँगा ल्याएपश्चात ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन् केन्द्रमा राखिने पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार नेपालमा मुर्रा जातका भैँसीहरु अहिले पनि पालिएका छन् ।
लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो । मुर्रा उन्नत २० राँगाको जातमध्येको एक हो र यसको सबैभन्दा उत्कृष्ट गन्तव्य दक्षिण भारत हो ।
नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको थियो । यसबाट नेपाली भैँसीहरुको नश्ल सुधार तथा दूधको उत्पादन पनि बढाउन सकिने विभागको अपेक्षा छ ।
मुर्रा जातका राँगा भित्र्याएपछि नेपाली भैँसीको नश्ल सुधार तथा दूधको उत्पादकत्वमा पनि बढोत्तरी हुने विभागको अपेक्षा छ । मुर्रा जातका भैँसीले अन्य जातका भैँसीभन्दा बढी दूध दिने र १२ बेतसम्म पनि दूध दिइरहन्छ ।
यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गरेको पाइन्छ, जुन सामान्य तथा स्थानीय जातका भैँसीभन्दा बढी हो । उन्नत जातका भैंसी उत्पादन गर्ने भन्ने कुरा आपैmमा राम्रो पक्ष हो । जसबाट नेपालले उन्नत जातका भैँसी उत्पादन गरी दूधमा आत्मनिर्भर बन्ने देखिन्छ ।
नेपालमा एउटा परिपाटी छ, त्यो हो नियम बनाउने तर त्यसको कार्यान्वयन पक्ष भने फितलो हुने, अनुगमन नहुने । अहिले सरकारले मुर्रा राँगा ल्याएर नश्ल सुधार गरी दूधमा आत्मनिर्भर बनाउने नीति लिएको छ, त्यो एकदम सर्हानीय पक्ष हो ।
सो नीतिको कार्यान्वयन पक्षलाई पनि कडाइका साथ लागू गरी किसानहरुको हितमा हुने कामहरु जस्तै उत्पादन गरेको दूधको बजार व्यवस्थापन गरिदिने, मेहनत अनुसारको उचित मूल्य तोकिदिने तथा समयमै भुक्तानी हुने व्यवस्था पनि गरिदिनु पर्दछ ।
अन्यथा मूल्य नपाएर हजारैं लिटर दूघ बाटोमै खन्याउने, आफ्नै ठाउँमा उत्पादित तरकारीहरु बजार नपाएर विक्री नहुनु वा उचित मूल्य नपाएर बारीमै कुहिने, बाटोभरी तरकारी फ्याँक्ने, वस्तुभाउलाई खुवाउनुपर्ने घटनाहरु ताजै छन् ।
अझ एउटा दुःखद् घटना त आफूले उत्पादन गरेको सामानहरुको उचित मूल्य र समयमै त्यसको भुक्तानी नपाउँदा एउटा किसानले जलेर आत्मदाहसम्म गरेको घटना नेपाली जनताको मानसपटलमा ताजै छ ।
तसर्थ सरकारले नयाँ कामको थालनी गर्ने मात्र होइन त्यसको निरन्तरताका लागि गर्नुपर्ने सम्पूर्ण व्यवस्था पनि मिलाइदिनु पर्दछ । जसको लागि सरकारले मुलुकमै उत्पादित वस्तुहरुको निर्यातमा ध्यान दिई आयातमा कडाई गर्नुपर्दछ ।
प्रधानमन्त्रीले उक्त विषय विभाग वा मन्त्रालयको मातहतमा मात्र गरे पुग्नेमा भ्रमणको उपलब्धीकै रुपमा लिनुले पनि विरोध र विवाद भएको हुन सक्दछ । अर्काे कुरा नेपाली जनताले प्रधानमन्त्रीको यसपालिको भ्रमणबाट ठूलै अपेक्षा गरेको देखिन्छ । जसमा मुख्य विषय त वर्षाैंदेखि सुल्झन नसकेको सीमा विवादलाई लिन सकिन्छ ।
अब प्रसंगलाई फेरी मुर्रा राँगाको विरोधमै जोडौं । हुन त कुनै देशको राष्ट्र प्रमुख अन्य देशमा भ्रमणमा जाँदा त्यस देशले उपहार स्वरुप जनावरहरु दिने प्रचलन रहेको छ । नेपालले चीनलाई दुईवटा गैंडाको बच्चा उपहार स्वरुप दिएको थियो । त्यस्तै नेपालले विभिन्न राष्ट्रहरुको नेपाल भ्रमणका क्रममा हात्ति, गोही तथा हाम्रो देशमा निर्मित हस्तकलाका सामग्रीहरु उपहार स्वरुप दिँदै आएको छ ।
नेपालले पनि विभिन्न राष्ट्रहरुमा भ्रमणका क्रममा त्यहाँबाट विभिन्न जनावर, वस्तुहरु उपहारस्वरुप ल्याउने गर्दछ । तर भारत भ्रमणका क्रममा पाएको मुर्रा राँगाको निकै चर्चा सँगसँगै विवाद उत्पन्न भएको छ ।
प्रधानमन्त्रीले उक्त विषय विभाग वा मन्त्रालयको मातहतमा मात्र गरे पुग्नेमा भ्रमणको उपलब्धीकै रुपमा लिनुले पनि विरोध र विवाद भएको हुन सक्दछ । अर्काे कुरा नेपाली जनताले प्रधानमन्त्रीको यसपालिको भ्रमणबाट ठूलै अपेक्षा गरेको देखिन्छ ।
जसमा मुख्य विषय त वर्षाैंदेखि सुल्झन नसकेको सीमा विवादलाई लिन सकिन्छ । नेपाली जनताले यो भ्रमणमा मुख्य एजेण्डाको रुपमा सीमा विवादको विषय उठान हुन्छ कि भन्ने आशा गरेका थिए ।
त्योसँगै भारतले नयाँ संसद भवनमा राखेर सार्वजनिक गरेको नेपालको भूभागसहित मोरल नक्साको बारेमा तथ्य खोजेको थियो । यस्ता ठूलठूला कुराको उठान नगरी प्रधानमन्त्री नश्ल सुधारतिर लागेकोले पनि राम्रा कामको नराम्रो सन्देश गएको हुनसक्छ ।
जेहोस्, जतिसुकै विवाद र विरोध भए पनि नेपाललाई दूधमा आत्मनिर्भर बनाउन यस नश्ल सुधार योजनाले टेवा पुग्ने आशा गर्न सकिन्छ । पशुपालनमा लागेका किसानहरुले यसलाई सकारात्मक रुपमा लिनुपर्दछ ।
प्रतिपक्षीले पनि सहीलाई सही र गलतलाई गलत नै भन्ने परम्पराको विकास गर्दै लैजानुपर्छ । यस्ता साना कुराहरुमा नअल्झी देशको हित हुने मुख्य विषयमा सत्तापक्ष तथा प्रतिपक्ष दुवै केन्द्रित हुनु जरुरी देखिन्छ ।
Categorized in विचार