arin enterprises

हराएका मानिस फेला पार्न नेपाल प्रहरीको भूमिका

SamacharDesk – बिराज | २०८० चैत्र ३०, शुक्रबार

सिन्धुपाल्चोकका एक ८ वर्षीय बालक हराए । परिवारले प्रहरीमा खबर गरे र प्रहरीले बालकलाई खोज्दै जाने क्रममा काठमाडौं ढुंगेअड्डामा फेला पार्‍यो । ती बालकलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो ।

त्यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते बेपत्ता भइन् । प्रहरीले हुलियाका आधारमा खोजी गर्दै जाँदा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो ।

बालबालिकामात्र होइन, युवाहरु समेत विभिन्न कारणले बेपत्ता हुने, हराउने भइरहेको छ । धनुषाकै २१ वर्षीया किशोरी गत फागुन २ गते बेपत्ता भइन् । उनलाई प्रहरीले क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।

उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ ।

प्रहरीले खोजी तथा उद्धारमा जुट्ने क्रममा चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् ।

हराएका मानिसहरूको खोजी तथा उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने र पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा जिम्मा लगाउने गरिएको छ

भूगोलको हिसाबले हेर्ने हो भने काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना जना हराएका मानिस फेला परे ।

त्यस्तै गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् ।

सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् ।

हराएका मानिसहरूको खोजी तथा उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने र पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा जिम्मा लगाउने गरिएको छ ।

खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तीब्रता अपनाएको बताउँछन् ।

‘खोजी मात्रै होइन मानिस के कारण हराउँछन् भनी कारण खोज्ने र यसबारे सचेतना फैलाउने, सम्झाउने र पुनः घटना दोहोरिन नदिने वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहनेछ’ प्रहरी नायव महानिरिक्षक ढकालको भनाई हो ।

प्रहरीले हराएका मानिसहरूको विवरण राख्न udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ । हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय रहेको प्रहरी बताउँछ ।

भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको जानकारी दिए ।

‘सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन्’ धनुषा प्रहरी प्रमुख तिवारीको भनाई हो ।

आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । तीमध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् ।

सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् ।

तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।

Categorized in समाज