रोमन चित्रकार पहिलो पटक हिरण्याक्ष बने
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक २०, आइतबार

आज कार्तिक नाचमा रोमन चित्रकार पहिलो पटक दैत्य (हिरण्याक्ष) बनेका छन् । कार्तिक नाच अन्तर्गतको बराह अवतारमा १८ बर्षिय रोमन चित्रकार पहिलो पटक दैत्य बनेका हुन् ।
यसअघि उनका काका किरण चित्रकारले उक्त भुमिका निर्वाह गर्दै आएका थिए । किरण विगत २४ बर्षदेखि बराह र नृसिंह अवतारको प्रस्तुतिमा दैत्य बन्दै आएका थिए । उनी २०५४ साल देखि २०७८ सालसम्म कार्तिक नाच अन्तर्गतको बराह अवतारमा हिरण्याक्ष र नृसिंह अवतारमा हिरण्यकश्यपु बन्दै आएका थिए ।
किरण भन्दा अघि उनका हजुरबुबा माणिकलाल चित्रकार हिरण्याक्ष र हिरण्यकश्यपु बन्दै आएका थिए ।
आजको नाचमा बराहको भूमिका कलाकार सौरभ कृष्ण श्रेष्ठले निर्वाह गरेका थिए । विष्णुगणमा विष्णुको भुमिका विवेक कृष्ण श्रेष्ठले निर्वाह गर्दा लक्ष्मीको भुमिका जेनिश महर्जन र सस्वतीको भुमिका रेगन मुल्मीले निर्वाह गरे । मसक स्थापित जय बन्दा प्रवेश श्रेष्ठ विजय बनेका थिए ।
इन्द्रगणमा इन्द्र मोहित शाक्य, सचि अभिषेक कोनाजु बने । दिदेन्स महर्जन जयन्तको, ऋतव शर्मा वरुणको र रमिक बज्राचार्य कुवेरको भुमिकामा रहेका थिए ।
प्रगुण राजोपाध्याय वायु, त्रिनिश बज्राचार्य अग्नी, विपुन शाक्य यम र सुजन बज्राचार्य वृहस्पति बनेका छन् ।
त्यसैगरी दैत्यगणमा सुवाहुमा दिनेश तण्डुकार र बज्रवाहुमा विजय तण्डुकार रहेका छन् भने अप्सरा निश्चल शाक्य बनेका थिए ।
बराह नृत्यमा प्रस्तुत गरिने कथा बस्तु
आजको नृत्य बराहले दैत्य हिरण्याक्षको बध गरी पृथ्वीको उद्धार गरेको कथामा आधारित छ ।
आजको प्रस्तुतिमा सुरुमा विष्णु गणको नृत्य प्रस्तुत गरिएको थियो । नृत्यपछि विष्णु आफु हिरण्याक्षको बध गर्न बराहको अवतार लिँदैछु भन्दै डबलीबाट बाहिरिन्छन् ।
त्यसपछि क्रमश इन्द्रगणले र दैत्यगणले नृत्य गरेका थिए भने पछि देव गुरु बृहस्पतिले इन्द्र गण यज्ञ गरे ।
यज्ञ गर्दै गर्दा हिरण्याक्ष र उनका मन्त्री सुवाहु र बज्रवाहु आएर यज्ञ विध्वंश गर्छन् । त्यसपछि बराह आई नृत्य गर्दै दैत्यसँग युद्ध गर्छन् ।
बराह अवतारमा दुई किसिमको युद्ध देखाइन्छ । सुरुमा धाः बाजाको तालमा मल्ल युद्ध (कुस्ती) र खिं बाजाको तालमा अस्त्रसस्त्र अर्थात हतियारको युद्ध हुन्छ ।
युद्ध गर्दै बराहले हिरण्याक्ष र उनका मन्त्री सुवाहु र बज्रवाहुको वध गर्छन् ।
त्यसपछि तलेजु पुजारीबाट बराहको पूजा गर्ने परम्परा रहेको छ । पूजापछि अप्सराको नृत्य र बराहको विजय नाच प्रस्तुत भएको थियो ।
आजको नृत्यमा तःझ्याको श्रेष्ठ नै बराह बन्नुपर्ने, दैत्य चित्रकार नै हुनुपर्ने र दैत्यको मन्त्री भने तण्डुकार नै हुनुपर्ने नियम रहेको छ ।
