arin enterprises

पार्टी सभापति लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरको माग

SamacharDesk – बिराज | २०८१ कार्तिक ४, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यालय भक्तपुरले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्ने गरी धरपकड गरेको भन्दै भत्सर्ना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत नेपाल सरकारलाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै पार्टीको जिल्ला कार्यालय भक्तपुरले यस्तो भनेको हो ।

आज पार्टीका भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतसहितको टोली जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगी भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा सहकारी ठगी सम्वन्धि गठित संसदीय छानविन समितिले दिएको प्रतिवेदन अनुसार वास्तविक सहकारी ठगी गर्ने व्यक्तिलाई कारवाही नगरी सहकारीबाट रकम अपचलन नभएको किटान हुँदाहुँदै पार्टी सभापति लामिछानेलाई गिरफ्तार गरिएको दावी गरिएको छ ।

ज्ञापन पत्रमार्फत ७ बुँदे माग पार्टीले अघि सारेको छ । माग पूरा नगरेमा सरकार विरोधी सघन आन्दोलन गर्न बाध्य हुने जनाएको छ ।

ज्ञापन पत्र मार्फत रास्वपा भक्तपुरले पार्टी सभापति लामिछानेलाई तत्काल रिहा गर्न माग गरेको छ । त्यसैगरी ८७ अर्ब भन्दा बढि सहकारीको रकम अपचलन र मिटरब्याजीहरुको खोजबिन गरी कारवाही गर्न र सहकारी र मिटरब्याजी पिडितहरुको लागि जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्न पनि माग गरिएको छ ।

धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सहकारी ठगीमा हदैसम्मको कारवाही गर्न पनि माग गरेको छ । 

Categorized in राजनीति