arin enterprises

एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ

SamacharDesk – बिराज | २०७८ श्रावण १२, मंगलबार

आज भक्तपुर दरवार स्क्वाएरको वातावरण विलकुलै फरक थियो, त्यहाँको रौनक नै बेग्लै थियो ।

ऐतिहासिक ५५ झ्याले दरवार अनि त्यस दरवारको अगाडीको यक्षेश्वर महोदवको मन्दिर, जसलाई भक्तपुरको पशुपति पनि भनिन्छ । यहि मन्दिरबाट आज विहानै वेद पाठ गुन्जियो,

‘हरि ओम गणानान्त्वागणपतिगुं, हवामहे, प्रियाणान्त्वाप्प्रियपतिगुं हवामहे, निधीनान्त्वानिधिपतिगुं हवामहेव्वसोमम ।। आहमजानि गर्ब्भधमात्वमजासिगर्ब्भधम् ।।’

भक्तपुरमा मात्र होइन, ललितपुरको दरवार स्क्वाएर मंगलबजारस्थित विश्वेश्वर महादेव मन्दिरबाट यसरी नै वेद गुन्जिन थाल्यो । अझ सोही समयमै काठमाडौंको हनुमान ढोका दरवार बाहिर रहेको महेन्द्रेश्वर महादेव मन्दिरबाट पनि वेद पाठ गरिएको सुनियो ।

आज (मंगलबार) एकै दिनमा, एउटै समयमा काठमाडौं उपत्यकाको तीनवटै शहरको दरवार क्षेत्रको शिवालयमा रुद्रि पाठ गरियो ।

राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्ति साथै देश र जनताको सुस्वास्थ्यको कामना गर्दै आज उपत्यकाका तीन वटै शहरमा पञ्चाभिषेक रुद्रि कार्यक्रमको आयोजना गरेको हो ।

‘वैज्ञानिकहरुले खोप बनाउँदैछन्, चिकित्सक, स्वास्थ्यकर्मीहरुले उपचार गर्दैछन्, व्यापारीहरुले उपचार, खोपको लागि आर्थिक सहयोग गर्दैछन्’, समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले भने, ‘हामी ब्राम्हण समुदाय, वेद पाठ गर्छौैं, वेद पाठ गरेर महामारीबाट मुक्तिको कामना गर्याैं ।

कोरोना महामारीको अवस्था र लकडाउन पनि जारी रहेको अवस्थामा निकै साधारण ढङ्गले भीडभाड नगरी रुद्रि कार्यक्रमको आयोजना गरेको पनि अध्यक्ष राजोपाध्यायले जानकारी गराउनुभयो ।

पञ्चाभिषेक रुद्रि कार्यक्रममा प्रत्येक जिल्लामा पाँच/पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुले वेद पाठ गरेका थिए ।

सो क्रममा भक्तपुरमा बालमधर शर्मा राजोपाध्याय, राजन राजोपाध्याय, अन्जन राजोपाध्याय, सरोजन राजोपाध्याय र प्रमोद राजोपाध्यायले वेद पाठ गरेका थिए ।

‘देवताका पनि देवता हुन् महादेव, यिनै महादेवले हाम्रो रक्षा गरोस् भन्ने कामनासहित हामीले रुद्रि पाठ गर्यौं, यो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको छ’ बालमधर शर्माको भनाई थियो ।

त्यसैगरी ललितपुरमा अमरराज राजोपाध्याय, गजानन्द राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, विष्णुचन्दन राजोपाध्याय र रविन्द्र धर शर्माले रुद्रि पाठ गर्नुभयो ।

‘सबैले आ–आफ्नो क्षेत्रबाट सकिने योगदान दिउँ, महामारी नियन्त्रणमा सक्दो सहयोग गरौं । हामीले वेद पाठ गर्दै, सबैको कल्याणको कामना गरेका छौं’ गजानन्द राजोपाध्यायले आफ्नो भावना पोखे ।

काठमाडौंमा कविन्द्र शेखर रिमाल, किशोर शर्मा राजोपाध्याय, राजीव राजोपाध्याय, श्रिमणी राजोपाध्याय र आभाष राजोपाध्यायले वेद पाठ गरेका थिए ।

‘अहिलेको विषम परिस्थितीमा सक्दो गर्ने हो, समाजले धार्मिक मार्गबाट महामारीसँग मुक्तिको भावना राखेर बढाएको कदममा साथ दिन पाउँदा खुसी लागेको छ’ कविन्द्र शेखर रिमालले भने ।

महादेवलाई विभिन्न वस्तुले अभिषेक गराउँदा विभिन्न फल प्राप्त हुने विश्वास रहेको छ ।

कुश राखेर जलले महादेवको अभिषेक गराउँदा रोग नाश हुने धार्मिक विश्वास छ । त्यस्तै शख्खरबाट मानसिक रोग समस्या निराकरण हुने, घ्यूको रुद्रिले हरेक प्रकारको रोगबाट मुक्ति पाइने विश्वास रहि आएको छ ।

यस पञ्चाभिषेक रुद्रि कार्यक्रमलाई प्रत्येक महिनाको एक पटक गरी एक वर्षसम्म सञ्चालन गर्ने समाजले जनाएको छ । प्रत्येक महिना शिवबास हेरी शुभ दिनमा रुद्रि कार्यक्रम गर्ने समाजका अध्यक्ष संजय शर्माले बताए ।

Categorized in संस्कृति