पहिलो पटक नृसिंह बने रुजल राजोपाध्याय
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक २१, सोमबार

ललितपुरमा प्रत्येक वर्ष नचाइने विश्व प्रशिद्ध कार्तिक नाचमा रुजलधर राजोपाध्याय पहिलो पटक नृसिंह बनेका छन् ।
कार्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह नाचमा १५ बर्षिय रुजल पहिलो पटक नृसिंह बनेका हुन् ।
रुजल नृसिंह बन्ने तेस्रो कान्छो कलाकार हुन् । यस अघि प्रतापधर शर्मा पनि १५ बर्षमै नृसिंह बनेका थिए भने प्रतापधरका हजुरबुबा चक्रधर शर्मा ११ बर्षमै नृसिंह बनेका थिए ।
कार्तिक नाचमा ललितपुरको वला महाद्यःननिका देवब्रह्माणहरु मात्र नृसिंह बन्न मिल्ने नियम छ ।
महाद्यःननिको पनि कृष्ण मन्दिरको पूजारी पालोवाला मात्र नृसिंह बन्न पाईन्छ । यसअघि २०५९ सालमा उनका बुबा रुपनधर राजोपाध्याय नृसिंह बनेका थिए ।
‘कृष्णमन्दिरको र नृसिंह बन्ने पालो हाम्रोमा २० बर्षमा एक पटक आउँछ, अहिले हाम्रो पालो परेको छ, म निकै उत्साहित छु’ रुजलले भने ।
हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन देखाइने नृसिंह नाच पूर्णरुपले तन्त्रमा आधारित छ । त्यसैले यो नाचलाई विशेष रुपमा लिने गरिएको पाइन्छ ।
‘कार्तिक नाचको मुख्य आकर्षण नै नृसिंह हो, विश्व प्रशिद्ध कार्तिक नाचको मुख्य आकर्षणको प्रस्तुति मुख्य पात्रको रुपमा प्रस्तुत हुन पाउँदा म निकै खुसी छु’ राजोपाध्यायले समाचारडेस्कलाई भने ।
रुजललाई नृसिंहको नाच सिकाउने गुरु भने उनका दाजु प्रतापधर शर्मा हुन् ।
तत्कालीन समयमा सिद्धिनरसिंह मल्लले कार्तिक नाचसँगै नृसिंह अवतारको नाच पनि सुरु गरेका थिए ।
सो समय सिद्धिनरसिंहका शिक्षा गुरु हरिवंश राजोपाध्याय नै नृसिंह बनि नाचेको कथन छ । हालसम्म पनि हरिवंश राजोपाध्यायकै सन्तानहरुले यसलाई निरन्तरता दिइरहेका छन् ।
नृसिंह नाचका कलाकारहरु
आजको नाचमा हरेक वर्ष झैं किरण चित्रकार नै हिरण्यकश्यपु बनेका छन् भने प्रह्लादको भूमिकामा सुअन शाक्य थिए ।
त्यस्तै विष्णुगणमा विष्णुको भुमिका विवेक कृष्ण श्रेष्ठले निर्वाह गर्दा लक्ष्मीको भुमिका जेनिश महर्जन र सस्वतीको भुमिका मन्जिल जोशीले निर्वाह गरे ।
प्रवेश श्रेष्ठ जय बन्दा दिपेन चित्रकार विजय बनेका थिए । सवरमा दिनेश तण्डुकार, बुद्धिवरमा विजय तण्डुकार र अप्सरामा निश्चल शाक्य थिए ।
यस्तै सन्दर्क तिरस महर्जन र अमर्क सुजन बज्राचार्य बनेका थिए ।
नृसिंह बन्ने कलाकारले पालना गर्नुपर्ने नियम
नृसिंह बन्ने कलाकारले बिहानै कपाल खौरेर नङ काटी, नयाँ जनै लगाउनुका साथै स्नान गरि शुद्ध बन्नुपर्छ ।
कार्तिक कृष्ण त्रयोदशी अर्थात नृसिंह नाच निकालिने दिनमा नाच नसकेसम्म नृसिंह बन्नेले केही पनि खान हुँदैन ।
नृसिंह बन्ने व्यक्ति घरबाट निस्केर सुरुमा सौगलको नासःद्यः र कृष्ण मन्दिरमा गई कृष्णको पूजा गरि देवाशिर्वाद लिन्छन् ।
त्यसपछि ललितपुर दरवारको केशव नारायण चोकमा गई नृसिंहको विशेष पोशाक लगाउँछन् ।
त्यहाँ तलेजुको मूल पूजारीले नृसिंहको मुकुट पूजा गरी नृसिंहलाई मुकुट लगाई दिन्छन् । पोशाक, मुकुटको साथमा मुकुण्डो लगाएका नृसिंहलाई खम्बाभित्र राखेर कात्तिक डबलीमा लगिन्छ र नाच प्रस्तुत गरिन्छ ।
नाच सम्पन्न भएपछि नृसिंहलाई फेरी केशब नारायण चोकमै लगिन्छ । त्यहाँ उपस्थित सबैलाई फूल प्रसाद दिइसकेर नृसिंहको मुकुण्डो निकालिन्छ ।
मुकुट लगाए देखि ननिकालेसम्म नृसिंह बनेका व्यक्तिले बोल्नु हुन्दैन । त्यसपछि आफ्नो घर गएर ख्येँय् सगं (अण्डा सगुन) लिएपछि मात्रै खाना खान मिल्ने नियम रहेको रुपनधर राजोपाध्यायले समाचार डेस्कलाई भने ।
हिरण्यकश्यपु वधमा आधारित कथावस्तु
नृसिंह नाच नृसिंहले दैत्यराज हिरण्यकश्यपुलाई वध गरि आफना परमभक्त प्रह्लालाई उद्धार गरेको कथामा आधारित छ ।
आजको प्रस्तुतिमा सुरुमा विष्णु गणको नृत्य प्रस्तुत गरिएको थियो भने नृत्यपछि विष्णु आफु हिरण्यकश्यपुको बध गर्न नृसिंहको अवतार लिँदैछु भन्दै डबलीबाट बाहिरिन्छन् ।
त्यसपछि गुरुद्वय सन्दर्क र अमर्कको नृत्य र प्रह्लादसहित दैत्यगणको नृत्य भएको थियो ।
नृत्यपछि सन्दर्क र अमर्कले प्रह्लादलाई ॐ नमः शिवाय भन्न सिकाउछ । तर विष्णुका भक्त प्रह्लाद भने ॐ नमः भगवते बासुदेवाय मात्र भन्ने गर्छन् ।
गुरुद्वय सन्दर्क र अमर्कले हार मानी प्रह्लादलाई दैत्यराज हिरण्यकश्पुलाई नै सुम्पि दिन्छन् । आफ्ना परम शत्रु विष्णुको मात्र भक्ति प्रह्लादलाई हिरण्यकश्यपुले बाँधिदिन्छ ।
त्यसपछि खम्बा फोडि निस्केका नृसिंह र दैत्यराज हिरण्यकश्पु बीच युद्ध हुन्छ ।
अन्त्यमा नृसिंहले हिरण्यकश्यपुको वध गर्छन् ।
दैत्य बन्ने कलाकार साँच्चिकैमा मुर्छा पर्छन्
नृसिंह नाचको क्रममा नृसिंह बनेका कलाकारले दैत्यराज बनेका कलाकारलाई छुने वित्तिकै साँच्चिकै मुर्छा पर्ने बताइन्छ ।
नृसिंहले छोएपछि मात्र होइन, नृसिंहको छायाँ मात्र परेपनि दैत्य अचेत हुने जनविश्वास छ । त्यसैले नृसिंह निस्किनु अघि नै नृसिंहको छाँया नै नदेखिने गरी चारैतिर ठुलो ठुलो मसाल बालिन्छ ।
नाचको अन्त्यमा नृसिंहले दैत्यलाई छुन्छ र दैत्य मुर्छा पर्छन् ।
अचेत भएका दैत्यलाई कात्रो ओढाएर कृष्ण मन्दिर पछाडी रहेको म्वःमदु गल्लीस्थित एउटा मिठाई पसल पछाडीको पूँवाछेँको छिँडीमा लगिन्छ ।
त्यहाँ तलेजु पूजारीले मन्त्रोच्चारण गर्दै जल पिलाएपछि मात्रै दैत्य ब्युँतिन्छन् । तलेजु पूजारीबाट नृसिंहको पनि पूजा गर्ने परम्परा रहेको छ ।
पूजापछि अप्सराको नृत्य र नृसिंहको विजय नाच प्रस्तुत गर्ने गरिन्छ ।
Categorized in संस्कृति
