arin enterprises

पञ्चाभिषेक रूद्रीमा छुट्टै भक्तिभावको अनुभव गरें – रुपन

SamacharDesk – संमुक्ता शर्मा | २०७९ श्रावण २१, शनिबार

राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापन समारोह नजिकिँदै जाँदा यसको चर्चा पनि बढ्दो छ । कार्यक्रम नजिकिँदै जाँदा भक्तजनहरुका साथै विगतका पञ्चाभिषेक रूद्रीमा सहभागी भएका देव ब्राम्हणहरुबीच पनि यस विषयमा चासो बढेको छ ।

समाजले गत वर्षको श्रावण महिनादेखि गएको असारमसम्म मासिक रुपमा पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुबाट पञ्चाभिषेक रूद्री कार्यक्रम सम्पन्न गरेको थियो ।

यसै बीच २०७८ माघ महिनाको पञ्चाभिषेक रूद्रीमा ललितपुर पूर्णचण्डीको महाःद्यःननि निवासी रुपन शर्मा राजोपाध्याय पनि सहभागी भएका थिए । उनले आफ्नो त्यो बेलाको अनुभव समाचारडेस्कसँग साटेका छन् ।

विहान सबेरै उठेर नुहाई धुवाई गरेर रूद्री पाठ गर्न जाँदा अर्कै किसिमको आनन्द र उत्साह महसूस गरेको उहाँ बताउनुहुन्छ ।

‘मलाई त्यो बेला निकै आनन्द लागेको थियो, दिनभर त्यसको उर्जा महसूस भइरहेको थियो । यजमानको घरमा कोठाभित्र रूद्री पाठ गर्दै आएकोमा मङ्गलबजारमा पाठ गर्दा सबैको ध्यानाकर्षण भइरहेको देख्दा रमाईलो पनि लाग्यो’ राजोपाध्यायले भने ।

घरमा गरिने भन्दा मन्दिरमा गरिने रूद्रीलाई उहाँले फरक नै पाउनुभयो । मन्दिरमा रूद्री पाठ गर्दा छुट्टै किसिमको भक्तिभाव महसूस भएको उहाँ बताउनुहुन्छ ।

गत असार महिनामा १२ औं पटकको पञ्चाभिषेक रूद्री सम्पन्न गरी अब यसको भव्य समापन समारोह आयोजना हुन जाँदा राजोपाध्याय निकै उत्साहित र उत्सुक छन् ।

नोकरीका कारण कार्यक्रममा ब्राम्हणकै रुपमा सहभागी हुन सकिएला वा सकिन्न अहिले भनिहाल्ने अवस्था भने नभएको उहाँ बताउनुहुन्छ । तर एक भक्तको रुपमा भएपनि कार्यक्रममा सहभागी हुने उहाँको ठुलै इच्छा रहेछ ।

‘के गर्नु, एक ब्राम्हणकै रुपमा लघुरूद्रीमा बसेर कार्यक्रममा सहभागी हुने ठुलो इच्छा छ । जागीरे जीवन, सबै चाँजोपाँजो मिलाउनै पर्यो । तर एक भक्तकै रुपमा भएपनि यस किसिमको कार्यक्रमको साक्षी भने बन्ने इच्छा छ’ उहाँले आफ्नो इच्छा सुनाए ।

विरलै हुने यस किसिमको कार्यक्रमको साक्षी बन्न र पुण्य कमाउन राजोपाध्यायले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

Categorized in संस्कृति