विश्वकप उपविजेता क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १५, मंगलबार

विश्वकप उपविजेता क्रोएसियालाई हराउँदै स्पेन युरोकप २०२०को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति कोपनहेगनस्थित पार्केन एरिनामा भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले पराजित गर्दै स्पेनले अन्तिम क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खेलमा सुरुवाती अग्रता क्रोएसियाले बनायो । २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।जारी युरोकपको यो नवौं आत्मघाती गोल हो ।
खेलको ३८ औं मिनेटमा पाब्लो सराबियाले, ५७ औं मिनेटमा सिजर अज्पिलिकुइटाले र ७७ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाएको थियो ।
तर, ८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले ओर्सिचले र इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोे पासालीचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गयो जसमा स्पेनले दुई गोल गर्यो ।
१०० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दा १०३ औं मिनेटमा मिकेल ओयार्जाबलले गोल गरेपछि स्पेन ५–३ ले विजय भयो ।
योसँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ ।
विश्वकप उपविजेता क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।
Categorized in स्पाेर्ट्स