arin enterprises

आज विश्व सगरमाथा दिवस मनाईंदै

SamacharDesk | २०८० जेठ १५, सोमबार

सगरमाथाको शिखरमा मानव पाइला परेको ७० वर्ष पूरा भएको छ ।

प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो ।

सोही आरोहणलाई स्मरण गर्दै आज सगरमाथा आरोहणको हिरक वर्षगाँठ मनाईदै छ । यो अवसरमा नेपाल पर्वतारोहण संघले भब्य कार्यक्रम आयोजना गरेको छ । आज बिहान ठमेलबाट प्रभातफेरी निकालिएको छ भने उक्त प्रभातफेरि नेपाल पर्यटन बोर्डमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको छ ।

कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलो पटक आरोहीलाई पदक प्रदान गर्न लागिएको पर्वतारोहण संघले जनाएको छ ।

हिरक दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको  थियो ।

कार्यक्रम अन्तर्गत सोलुखुम्बुको खुम्जुङमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । खुम्जुङमा हुने कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि संघले जनाएको छ ।

७० वर्षमा नेपाली र विदेशी गरी करीब सात हजार पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यसबीचमा सगरमाथामा विभिन्नखाले कीर्तिमान पनि कायम भएका छन् ।

Categorized in राष्ट्रिय