arin enterprises

नेपालमै सामसङ टेलिभिजन उद्योगको स्थापना

SamacharDesk | २०७९ भाद्र ९, बिहिबार

विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ ।

बुधबार एक समारोहकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ  इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष एचके पार्कको उपस्थिति नवलपरासीस्थित कारखानाको शिलान्यास गरेको छ ।

यसैगरी समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समुहका अध्यक्ष र प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, मित्रराष्ट्र दक्षिण कोरीयाका राजदूत पार्कचोँग सुकको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै सामसङ  दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक भएको बताउनुभयो ।

समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ ।

यो हाम्रो सामसङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ।” बताउनुभयो । कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्रीवितरण गर्दै आइरहेको छ ।

नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।

Categorized in बिजनेस