काठमाडौंवासीहरु आज सापारु मनाईदै
SamacharDesk – Ram Dangol | २०८० भाद्र १५, शुक्रबार

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज उपत्यकाका नेवारहरुले मनाईंदैछ ।
दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले विहीबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाइरहेका छन् ।
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ(आफ्ना क्षेत्रमा नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ(आफ्नो घरका दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भन्ने आदेश दिएको आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य रहेको छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी रहेको छ । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ ।
सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको समेत आयोजना हुने गरेको छ ।
Categorized in राष्ट्रिय