arin enterprises

सापारुमा गाईको जात्रा हुने होइन

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २०, मंगलबार

आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा । 

गाईजात्रा ? नेवाः समुदायले यो पर्वलाई सायाः अथवा सापारु भन्ने गर्छन् । यसलाई गाईजात्रा भनिनु नहुने र सापारु अथवा सायाः नै भन्नुपर्ने अभियन्ता र भाषाविद्हरु समेतको भनाई रहेको छ ।

धेरैको भनाई अनुसार कुनै पनि नामलाई भाषा अनुसार अनुवाद गरिरहनु आवश्यक छैन वा मिल्दैन । त्यहि भएकोले यो पर्वलाई पनि गाईजात्रा भनिरहनु आवश्यक छैन ।

हुन त कुनै पनि स्थान वा पर्व विशेषको नामसँग धेरै पक्षहरु जोडिएको हुन्छ । नामैले त्यसको ऐतिहासिक पक्ष, धार्मिक अर्थ, सामाजिक महत्व अथवा दर्शन समेतको व्याख्या गरिरहेको हुन्छ ।

कुनै समुदाय विशेषलाई उच्चारण गर्न गार्हो भएको वा नबुझिएको भन्दै अनुवाद गर्दै गएमा अनुदित नामले माथि उल्लिखित विभिन्न पक्षहरु समेत मासिने सम्भावना उत्तिकै बढाउँछ ।

फेरी हामीले देशका वा विदेशका समेत पर्वहरुको नाम सम्वन्धित समुदायकै भाषा अनुसार नै चिनिरहेको, चिनाइरहेका छौं ।

पश्चिमा संस्कृति क्रिशमसलाई हामीले कुनै नेपाली नाम दिएका छैनौं । त्यसैगरी ल्होसारलाई पनि कुनै अन्य नाम दिएका छैनौं । अब नेवार समुदायको गथांमुगःलाई घण्टाकर्ण अथवा गठेमंगल, सायाःलाई गाईजात्रा भनिरहनु पर्ने आवश्यकता छैन ।

फेरी कुनै वस्तु वा गतिविधि जुन समुदाय वा क्षेत्रबाट आविष्कार वा विकास भयो, सोही क्षेत्रको भाषाबाटै नामाकरण हुनु प्राकृतिक नियम जस्तै नै भएको छ ।

पश्चिमी मूलुकमा आविष्कार भएको टेलिफोनलाई दूरभाष अथवा कम्यूटरलाई सुसांख्य यन्त्र नाम दिइएपनि हाम्रो समाजले स्वीकारेन । त्यस्तै यहाँको सुकुन्दालाई पनि पश्चिमी मूलुकले आफ्नो भाषाबाट अनुवाद गरेको पाइन्न ।

यी विविध पक्षमा घोतलिँदा पनि सापारु वा सायाःलाई गाईजात्रा भनिरहनु आवश्यक देखिन्न ।

सापारु भनेको मासा अर्थात गाईको जात्रा होइन, यो थुसाको जात्रा हो

अब यसको शब्दार्थ र धार्मिक पक्षकै दृष्टिकोणले पनि गाईजात्रा भनिनु कत्तिको उचित होला हेरौं न ।

नेपालभाषामा ‘याः’ भन्नाले जात्रा हो र ‘पारु’ भनेर प्रतिपदा तिथिलाई भनिएको हो । अनि साधारण अर्थमा ‘सा’ भन्नाले गाई बुझिन्छ । यहि हिसाबले सायाःलाई गाईजात्रा भनेर अनुवाद गरियो ।

अब यहाँ प्रश्नको यो उठ्छ कि ‘सा’ भनेको गाई नै हो त ?

सा भनेको गाई मात्र होइन । सा भनेपछि नर पनि हुनसक्छ भने मादा पनि हुनसक्छ । नेपालभाषामा नर ‘सा’ लाई थुसा भनिन्छ भने गाईलाई मासा भनिन्छ ।

सापारु भनेको मासा अर्थात गाईको जात्रा होइन । यो थुसाको जात्रा हो ।

यो कुरालाई चर्चा गर्नु अघि भक्तपुरको सायाः बारे केही चर्चा गरौं ।

भक्तपुरमा परिवारमा दिवंगतको नामबाट सायाः निकालिने गरिन्छ । त्यसमा विभिन्न साँस्कृतिक गतिविधिहरु गर्ने गरिन्छ । जसमध्ये ताहाःमचा, घिन्ताङकिसि आदि हुन् । 

यसरी सायाः निकालिँदा मृतकको तस्वीर वा कुनै चिन्हसँगै साँढे पनि राख्ने गरेको देखिन्छ । 

यसरी निकालिने घिन्ताङकिसिलाई शिवगणको रुपमा लिइन्छ भने सायाःमा निकालिने सा अथवा थुसा महादेवको वाहन नन्दि हो ।

यसैगरी भक्तपुरको साथमा जहाँ पनि सायाः निकालिने गरिन्छ, ती सबै ठाउँमा सा भनेको थुसा अथवा महोदवको नन्दि नै हो ।

सायाः मृत्युसँग जोडिएको पर्व हो । त्यो हिसाबले मृत्युको पनि जात्रा चल्छ र भन्ने पनि होला

अब महादेवको नन्दिलाई गाई भन्नु कत्तिको उचित होला हामी आफैं निर्णय गरौं ।

हुन त मृत्यु भनेको दुःख वा शोकको विषय हो । फेरी सायाः मृत्युसँग जोडिएको पर्व हो । त्यो हिसाबले मृत्युको पनि जात्रा चल्छ र भन्ने पनि होला ।

हो, यो मृत्युसँग जोडिएको पर्व पनि हो र उत्सव पनि हो ।

परिवारमा कसैको मृत्यु भएमा मृतकको सद्गतिको कामना सबैको हुन्छ नै । कसैले सुखावति भुवनमा वासको कामना गर्लान् त कसैले वैकुण्ठ वा कैलाश वासको कामना गर्लान् ।

परिवारमा मृत्यु भएका मृतात्माको कैलाश वास होस् भन्ने कामना सहित सायाः निकालिने हो भने मृतात्माको कैलाश यात्राको रुपमा सायाःलाई उत्सवकै रुप दिएर मनाइएको हो ।

यो धार्मिक मान्यताले पनि सायाःमा शैव मतको प्रत्यक्ष सम्वन्धलाई स्थापित गरेको छ । 

यी सबै पक्षको अध्ययन र विश्लेषण गरेपछि यो पर्वलाई गाईजात्रा भनिनु कत्तिको उचित होला, विचार गरौं ।

नाम मात्र नाम होइन भन्ने कुराको चर्चा माथि भइसक्यो । नामले मौलिकतासँगै धेरै पक्षहरु बोकेको हुन्छ । अनावश्यक रुपमा नामलाई अनुवाद गरेर मौलिकता किन मास्नु ? सोचौं एक पटक 

Categorized in विचार