सप्तकोसी नदी बस्तीभित्र पसेपछि १० हजार घर डुबानमा
SamacharDesk | २०७९ श्रावण १८, बुधबार

अविरल बर्षाका कारण सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् ।
कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।
बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोसीको बाढी वस्तीमा पसेको छ । डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा क्षति पुग्ने खतरा रहेको बताइएको छ ।
जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आ–आफ्ना घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्केका छन् । यस क्षेत्रमा दुई सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब ४ बजे सप्तकोसी नदीकोे बाँध फुटेपछि बस्तीमा प्रवेश गरेको हो ।
बेलका नगरपालिकाका प्रमुख कार्कीका अनुसार अहिले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन् ।
डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय