arin enterprises

सर्वेन्द्रले भने, मलाई स्थानीय संस्कृति, परम्परा प्यारो लाग्छ

SamacharDesk – बिराज | २०७९ कार्तिक ३०, बुधबार

आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवार सर्वेन्द्र खनालले आफुलाई स्थानीय संस्कृति, परम्परा निकै प्यारो लाग्ने बताएका छन् ।

घरदैलो कार्यक्रमको क्रममा ठमेलमा भेटेका पूर्व प्रहरी महानिरिक्षक खनालले विगतमा आफु प्रहरी सेवामा हुँदा पनि विभिन्न जात्रापर्वमा विशेष भूमिका खेल्ने गरेको बताए ।

ठमेल क्षेत्रका स्थानीय मतदातासँगै कुराकानी गर्दै खनालले जात्रापर्वहरु हुँदा स्थानीय जनतासँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाउने गरेको र जात्रालाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न सक्दो भूमिका पनि खेल्ने गरेको बताए ।

‘विगतका दिनमा मैले यहाँका जात्रापर्वहरुमा सुरक्षा व्यवस्था मिलाउन आफुले सक्दो भूमिका खेलें । यो काममा मलाई स्थानीय जनताको ठुलो साथ र सहयोग रह्यो । अब स्थानीय जनताकै साथ र सहयोग लिइ देश र राष्ट्रको सेवा गर्नको लागि आएको छु’ खनालले भने ।

यहाँका स्थानीय संस्कृतिले समाजमा सकारात्मक उर्जा दिनुका साथै सामाजिक शिक्षा पनि दिने गरेको उनको विचार छ । समाजसँग सहकार्य, सामाजिक विधि, व्यवहारका शिक्षा पनि यहाँको संस्कृतिबाटै आफुले पाएको उनले भने ।

‘यहाँका जात्रापर्वहरुको विशेषता नै बेग्लै छ । सामाजिक सद्भाव र सहकार्यको शिक्षा दिने संस्कृति छ यहाँको । यहाँका जात्राहरुबाट मैले धेरै कुराहरु सिकेको छु’ खनालले भने ।

सो क्रममा उनले २०६५ सालको ईन्द्रजात्रा काण्ड पनि सम्झिए ।

सो समयमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले मितव्ययिताको नाममा ईन्द्रजात्राको लागि दिँदै आएको बजेटमा कटौती गर्दा आक्रोशित स्थानीय जन समुदाय जात्रा नै रोकेर आन्दोलनमा उत्रिएका थिए ।

त्यो बेला स्थिती नियन्त्रणमा राख्न खनालले खेलेको भूमिकालाई लिएर धेरैले प्रशंसा नै गरेका थिए ।

‘त्यो बेलाको परिस्थिती अरु आन्दोलन भन्दा फरक थियो । त्यो बेला आफ्नो सदियौं पुरानो परम्परा जोगाउनुपर्ने माग लिएर स्थानीय जनसमुदाय आन्दोलनमा उत्रिएका थिए । स्थिती नियन्त्रणमा राख्न दमनकारी होइन, समन्वयकारी भूमिका आवश्यक थियो । मैले सोही अनुसार काम गरें’ खनालले १५ वर्ष पुरानो समय सम्झिँदै भने ।

त्यो बेला एक सुरक्षाकर्मीको रुपमा यहाँको स्थानीय जात्रापर्वमा विभिन्न भूमिका खेलेको र अब जन प्रतिनिधिको रुपमा स्थानीय संस्कृति परम्पराको दीगो व्यवस्थापन र संरक्षणका लागि भूमिका खेल्ने आफ्नो योजना रहेको खनालको भनाई थियो ।

वर्षैपिच्छे बजेट माग गरिरहनुपर्ने, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापनको लागि धाइरहनुपर्ने स्थितीको अन्त्य गरी जात्रापर्वहरुलाई व्यवस्थित गर्नेतर्फ पनि आफ्नो भूमिका रहने खनाले प्रष्ट्याए ।

साथै संस्कुतिलाई पर्यटनसँग जोड्दै यहाँका स्थानीय गुठी, संस्कृतिसँग जोडिएका सराेकारवाला समूह आदिलाई आर्थिक रुपमा सबल बनाउने योजना पनि आफ्नो रहेको उनले बताएका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082