arin enterprises

शताब्दी पुरुष जोशीको अवस्था चिन्ताजनक

SamacharDesk – बिराज | २०७९ आश्विन २४, सोमबार

किस्ट अस्पतालमा उपचाररत शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ती जारी गर्दै शताब्दी पुरुष डा. जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको बताएका हुन् ।

स्वास्थ्यमा सुधार नदेखिएपछि १०३ वर्षीय शताब्दी पुरुष जोशीलाई आज आइसीयूमा सारी उपचार सुरु गरिएको छ । जोशीमा मुटुको चाल सम्वन्धि समस्या देखिएपछि सो नियन्त्रणका लागि आइसीयूमा सारिएको अस्पतालबाट जारी विज्ञप्तीमा भनिएको छ ।

‘प्रतिष्ठानमा उपचाररत एक सय तीन वर्षीय शताब्दी पुरुष डा. सत्य मोहन जोशीज्यूलाई गत असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकोले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुको चाल सम्वन्धि (Atrial fibrillation) समस्या देखा परेकोले सो नियन्त्रणका लागि आई.सी.यू.मा राखी उपचार शुरु गरिएको छ’ विज्ञप्तीमा लेखिएको छ ।

जोशीको हालको रक्तचाप १००/६०, पल्स प्रति मिनेट ८० बिट्स, प्रति मिनेट १८ पटक श्वासप्रश्वास, प्रति मिनेट ३० लिटर अक्सिजनको सपोर्टसहित अक्सिजनको लेभल ९३ प्रतिशत रहेको अस्पतालले जनाएको छ ।

उहाँको स्वास्थ्य निरिक्षणका लागि मेडिसिन विभागको नेतृत्त्वमा अन्य विभागहरुसहित चिकित्सकहरु संलग्न रहेको पनि अस्पतालले जानकारी दिएको छ ।

खानामा अरुची भएपछि उनलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो भने पछि उनमा डेंगु संक्रमण पनि पुष्टि भएको थियो ।

हाल उनी प्रष्ट खुलेर संवाद गर्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।  

Categorized in समाज