साउनको अन्तिम सोमबार शिवालयहरुमा भक्तजनको घुँइचो
SamacharDesk | २०७९ श्रावण ३०, सोमबार

साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत देशभरका शिवालयमा आज विहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।
भक्तजनहरुको दर्शनार्थ पशुपतिमा आज बिहान सवा ३ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरिएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ ।
साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ ।
सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।
यो वर्ष साउनमा ५ वटा सोमवार परेका थिए । पहिलोपटक व्रत लिनेहरुले ५ वटा सोमवार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान शिवले श्रृष्टि सञ्चालनको जिम्मा लिने शास्त्रोक्त कथन छ ।
सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउनका सोमवारको व्रत बसेर मनाइएको छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।
हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।
आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।
Categorized in संस्कृति