ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ आषाढ १२, आइतबार

ललितपुर महानगरपालिकामा आजबाट पानीपुरी र चटपटे बेच्न रोक लगाइएसँगै यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।
ललितपुर महानगरपालिकाले भने गल्ली गल्लीमा पाइने पानीपुरी र चटपटे बनाउन दूषित पानी प्रयोग गरिने भन्दै प्रतिबन्ध लगाएको हो ।
राजधानीमा सडक छेउमा बिक्रि वितरण गरिने पानीपुरी चटपटे जस्ता खाद्य बस्तुको माध्यमले हैजा, झाडापखाला लगायतका रोग फैलिरहेको ललितपुर महानगरको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
‘सडक किनार र गल्लीहरूमा बेच्न राखिएको पानीपुरी र चटपटे बनाउन निकै फोहर र दुषित पानी प्रयोग गर्ने गरेको पाइएको छ । यसले हैजा तथा झाडापखाल जस्ता रोग लाग्ने र फैलिने सम्भावना बढि देखिएपछि प्रतिवन्ध लगाइएको हो’ नगर प्रहरी प्रमुख हाछेथुले भने ।
महानगरपालिकाको यस निर्णयलाई लिएर आम नागरिकले भने प्रश्न खडा गरेका छन् ।
आम नागरिकले पानीपुरी, चटपटे लगायतको विक्रि बन्द गर्दैमा हैजा वा पानीबाट फैलिने रोग नियन्त्रण गर्न सकिएला र भनेर प्रश्न राखेका छन् ।
बाहिरबाट राम्रो देखिने ठुलठुला होटल, रेस्टुरेन्टहरुमासमेत दुषित पानी प्रयोग गर्ने गरेको सर्वसाधारणको भनाई छ ।
ठुला व्यापारीलाई छुट दिएर साना ठेला व्यापारीलाई मात्र नियन्त्रण गर्न खोज्दा विपन्न परिवारको पेटमा मात्र लात हान्ने काम भएको आम नागरिकको बुझाइ छ ।
ठेलादेखि ठुला रेस्टुरेन्टसम्म पनि अनुगमन हुनुपर्ने माग सर्वसाधारणले राखेका छन् ।
रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बच्न नदिने साथै पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्र बिक्रि वितरण गर्न दिने जानकारी हाछेंथूले दिए ।
Categorized in स्थानीय