सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर मात्र विदा हुने शाक्यको भनाई
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १७, मंगलबार
                              काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेवाः देय् दबू, काठमाडौं जिल्ला समितिले दिएको सम्मान ग्रहण गर्दै महानगर प्रमुख शाक्यले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि स्थानीय विषय अन्तर्गत ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूत तहमा पठन–पाठनको सुरुवात गरेको भन्दै देय् दबू काठमाडौँ जिल्लाले शाक्यलाई सम्मान गरेको हो ।
साे अवसरमा शाक्यले भोलिका पुस्ताले आफ्नो संस्कृति, संस्कार र जात्रा–पर्वबारे गौरव गर्दै त्यसको संरक्षण गर्न सकुन् भन्ने हेतुले स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताउनुभयो ।
‘भोलिका पुस्ताले काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, काठमाडौंका प्रमुख जाति, यहाँको जनजीवन, कला, जात्रापर्व, भाषा जस्ता विषयको जानकारी होस् भनेर पाठ्यपुस्तकमा ती विषय समेटिएका छन्’ उहाँले बताउनुभयो ।
काठमाडौं महानगरभित्रका साँस्कृतिक, धार्मिक सम्पदाको जिर्णोद्धार, पुनर्निर्माणमा महानगरले पुर्ण सहयोग गर्ने प्रतिवद्धता दोहयाउँदै शाक्यले कतिपय ठाउँमा गुठियारकै विवाद र पुरातत्वका कारण समस्या भएको बताउनुभयो ।
नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले प्रमुख शाक्यलाई स्थानीय पहिचान मुताविक टोल, सडक, गल्ली र चोकहरुको नामाकरण गर्ने अभियानको समेत अगुवाई गरिदिन आग्रह गर्नुभयो ।
राष्ट्रिय जनगणना हुँदा वास्तविक तथ्याङ्क बाहिर ल्याउन टोलटोलमा स्वयमेवी गठन गर्न स्थानीय गणक राख्न पहल गरिदिन पनि अध्यक्ष महर्जनले आग्रह गरे ।
Categorized in स्थानीय
    



