arin enterprises

कोरोनाको डर कसलाई छ र साउने सोमबारमा

SamacharDesk – बिराज | २०७८ श्रावण ३२, सोमबार

कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा पनि आज देशका शिवालयहरुमा ठुलै भीड लागेको छ ।

पशुपति लगायत अन्य शिवालयहरुमा व्रत पूजा गर्ने महिलाहरुको साथमा दर्शन गर्न आउने अन्यको भीड ठुलै देखिन्छ ।

प्रशासनले भने संक्रमणको जोखिमका बीच मन्दिरको नित्य पूजाबाहेक अन्य कुनै पर्वपूजाहरु नगर्न नगराउन आदेश जारी गरेको छ । यस आदेशको कुनै पर्वाह नगरी शिवालयहरुमा आज जम्मा भएको भीड हेर्न लायकको छ ।

‘शिवजीको पूजा गर्दा के को कोरोना सोरोना, देवताहरुको पनि देवता महादेव, उहाँले सब हेर्नुहुन्छ’ एक व्रतालु महिलाले महादेवले नै सब ठिक गर्ने भन्दै ढुक्क भएर भनिन् ।

प्राय मन्दिर भने बन्द नै रहेका छन् । तर मन्दिरकै बाहिरबाट पूजा गर्दै दर्शन गर्न र व्रत पूजा गराउन व्रतालु, भक्तजनहरु शिवालयहरुमा पुगिरहेका छन् ।

ब्राम्हण पुरोहितहरु पनि पसल थापेर ग्राहक कुरेजस्तै शिवालय बाहिर नै बसेर व्रत पूजा गराइरहेका छन् । समाजलाई शिक्षादिक्षा दिने समुदायको रुपमा चिनिने ब्राम्हणहरु पनि कोरोनाको जोखिमका बीच भीडभाड गराउन नै तम्सिएको जस्तो देखिन्थ्यो ।

‘आफ्नो कर्म त गर्नुपर्यो नि, आफ्नो त जातै ब्राम्हण हो, पूजा पाठ नगराए के गर्नु ? फेरी कोरोना भनेर भोकै बस्न पनि सकिन्न’ मखनको महेन्द्रेश्वर महादेवमा पूजा गराउँदै गरेको एक ब्राम्हणले भने ।

पशुपतिको मेला, सिद्राको व्यापार गर्नेहरु पनि कम थिएनन् । विभिन्न मालसामानहरुको विक्रि गर्न सडकै ढाकेर पसल थापेका फुटपाथ व्यापारीहरुले पनि भीडभाड बढाउन राम्रै सहयोग पुर्‍याएको छ भन्न सकिन्छ ।

यसरी भीडभाड जम्मा भई संक्रमण फैलिने डर पनि उत्तिकै बढेको अवस्थामा पनि भीड नियन्त्रणका लागि प्रहरी प्रशासनको पनि खासै केही सक्रियता देखिएको छैन । त्यसैगरी फुटपाथ पसल हटाउन नगर प्रहरीको उपस्थिती पनि छैन ।

धार्मिक, साँस्कृतिक गतिविधि भन्दै प्रशासन पनि बेवास्ता गर्दै बस्ने हो र आम नागरिकले पनि लापरवाही नै देखाउने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जाने पक्का छ । 

Categorized in समाज