arin enterprises

खोकनामा सिकाली जात्राको रौनक

SamacharDesk | २०७९ आश्विन १६, आइतबार

ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले हर्षोल्लासपूर्वक सो जात्रा मनाइरहेका छन् ।

दशैं सट्टा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । घटस्थापनाको दिन खोकनामा मचाः पूजा गरिन्छ । किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको मन्दिरमा लगेर विशेष गोप्य पूजा गरिन्छ ।

उनीहरुले त्यहाँ चार दिनसम्म मन्दिरमा पूजा गर्छन् । त्यस समय सो चौरमा मानिससँगै पशुपन्छीलाई समेत प्रवेश निषेध गरिन्छ । तृतीयाका दिन भने रुद्रायणी गुठीका सदस्यहरु दिनभरि व्रत बस्छन् । चौथो दिन प्रत्येक घरमा छ्वयालाबु गरी भोज खाइन्छ ।

पञ्चमीका दिन खोकनामा मुख्य जात्रा हुन्छ। रुद्रायणी मन्दिरबाट देवतालाई बाहिर निकालेर खटमा राखिन्छ । त्यसैदिन बेलुकातिर एउटा राँगालाई खोकनाको कोट क्षेत्रबाट बाहिर लगेर बलि दिइन्छ। बिहान १(२ बजेतिर खटमा राखिएका देवतालाई बोकेर सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ ।

छैटौँ दिन भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरुले नृत्य प्रस्तुत गर्ने गर्छ । गुठीका १४ जना आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः ९मुकुण्डो० र वस्त्र लगाएर मन्दिर परिसरमा उफ्रिएर नृत्यु देखाउँछन् ।

सिकाली जात्रा अन्तर्गत १४ देवीदेवता रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार को नाच देखाइन्छ ।

४६ जना मध्ये १४ जना देवदेवीको भूमिकामा रहन्छन् । सबै देवगणहरुलाई मन्दिर भित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट मन्दिर बाहिर निकालिन्छ र सिकाली परिसरमा नचाइन्छ ।

सिकाली चौरबाट नाच्दै उनीहरुले गाउँ परिक्रमा गर्छन् । अन्तिम दिन क्वँलाछीमा आएर जात्रा समापन हुन्छ। सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ ।

गुठीमा रहेका ४६ जना देवगण गुठीयारहरु बीच कार्य विभाजन गरिएको हुन्छ । सबैजना महर्जनरडंगोल खलकका हुन्छन्। हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनासाथ यो जात्रा मनाउने गरिएको छ ।

जात्रामा भक्तजनका विभिन्न स्थानीय गुठीले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् । जात्रामा रौनक थप्न स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् ।

Categorized in संस्कृति