भारतको सिक्किममा हिउँपहिरोमा परी तीन नेपालीसहित सातको मृत्यु
SamacharDesk | २०७९ चैत्र २२, बुधबार

भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित कम्तिमा सात जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । हिउँ पहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको सिक्किम प्रहरीले जनाएको छ ।
अन्य मृतकहरुमा भारतको उत्तर प्रदेश र कोलकाताका पर्यटक रहेको जनाइएको छ । पहिरोमा परी तीन जना नेपालीहरु घाइते भएको थाहा भएको सिक्किमका अधिकारीहरुले बताएका छन् ।
हिउँपहिरोमा दुई दर्जन जति पर्यटक पुरिएको आशंका गरिएको छ । पाँच सात वटा सवारी साधन हिउँ पहिरोमा पुरिएको देखिएकाले ती सवारी साधनमा कति जना छन् भन्ने यकिन हुन नसकेको अधिकारीहरुले बताएका छन् ।
सिक्किमको राजधानी गान्तोकलाई नाथुलासंग जोड्ने जवाहरलाल नेहरु राजमार्ग हिउँ पहिरोले अवरुद्ध हुँदा ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक फसेको पनि सिक्किम सरकारले जनाएको छ ।
भारतीय सेनाले दुई दर्जन बढी पर्यटकलाई उद्धार गरेर अस्पताल भर्ना गरेको छ । सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ ।
Categorized in अन्तर्राष्ट्रिय