arin enterprises

राक्षसलाई लखेट्ने जात्रा, सिन्दुर जात्रा

SamacharDesk – Ram Dangol | २०८० बैशाख २, शनिबार

भक्तपुरको मध्यपुरथिमीमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो । 

बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा ३२ वटा खट सिन्दुर जात्रा गरी बालकुमारीमा भेला गराई हर्षाेल्लासपूर्वक मनाइएको हो ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाएका छन् । यात्रामा एक अर्कामा सौहार्द्धपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

किवंदन्ती अनुसार परापूर्व कालमा एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यसलाई सबै जनताले मिलेर कहिले नफर्किने गरी गाउँबाट लखेटेको खुसीयालीमा सिन्दुर जात्रा मनाउन थालिएको किंवदन्ती छ ।

आजै भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाएका छन्। जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ ।

रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रार्थना गर्ने परम्परा रहेको छ ।

परापूर्व कालमा एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यस राक्षसलाई समाति राक्षसको सांकेतिक प्रदर्शनी स्वरूप जिब्रो छेड्ने जात्रा मनाइने गरेको किवंदन्ती छ ।

तसर्थ मध्यपुरमा मनाइने सिन्दुर जात्रा र बोडेमा मनाइने बिज्रो छेड्ने जात्रा एकआपसमा सम्बन्धि रहेको पाइन्छ । दुवै जात्रा भक्तपुर गाउँमा पसेर दुःख दिएका राक्षसलाई समाति नगरपरिक्रमा गराई कहिल्यै नफर्किने गरी लखेटेको खुसियालीमा सिन्दुर जात्रा गरेको किंवदन्तीबाट थाहा पाउन सकिन्छ । 

यसै अवसरमा यो वर्ष स्थानीय २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।

सुजनले आजको दिनका लागि तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बसेका थिए । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च  लामो सुइरोले जिब्रो छेडेर विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई नगर परिक्रमा गरियो ।

यसरी जिब्रो छेडेपश्चात अर्ध चन्द्राकारको महादीप बोकेर नगर परिक्रमा गरियो । यस क्रममा स्थानीयहरुले घरघरबाट पूmल बर्साएर पूजा गर्नेछ ।

महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न भएको छ । 

Categorized in संस्कृति
SKIP THIS tihar2082