भारतमा एक पटक प्रयोग हुने प्लाष्टिक प्रतिबन्ध
SamacharDesk | २०७९ आषाढ १७, शुक्रबार

भारतमा सिंगल युज अर्थात एक पटक प्रयोगमा ल्याइने प्लाष्टिकका सम्पूर्ण सामग्रीहरु शुक्रबारबाट पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
भारतको केन्द्रीय पर्यवरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामग्रीको सूची जारी गरेको छ ।
जसमा ७५ म्याक्रोन भन्दा तलका प्लास्टिकका झोलाहरु, प्लास्टिकको डण्डी भएका इअरवड, हट एअर बलुनको डण्डी, प्लास्टिकका झण्डा, क्याण्डी तथा आइसक्रिम स्टिक रहेका छन् ।
त्यस्तै, थर्माकोल, प्लास्टिकका प्लेट, चम्चा, काँटा, कप, चक्कु, स्ट्रे, मिठाइका बट्टा प्याक गर्ने वा मोड्ने प्लास्टिकजन्य वस्तु, निमन्त्रण कार्ड, चुरोटको प्याकेट, सय म्याक्रोन भन्दा तलका पीभीसी वा ब्यानर, चिनीलगायतका वस्तुकहरुमा मिसाइने स्टिरलगायत रहेका छन् ।
देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो।
अब उप्रान्त कसैले यस्ता खालका सिंगल युज प्लास्टिक प्रयोग गरिएको पाइएमा कैद सजाय तथा जरिवाना गर्ने पनि भारत सरकारले चेतावनी दिएको छ ।
साथै राज्य सरकारहरुलाई यस्ता सामाग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा बन्देज लगाउन तथा सुक्ष्म निगरानी राख्न भनिएको छ ।
भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतमा प्रत्येक वर्ष साँढे २ लाख टन सिंगल युज प्लास्टि उत्पादन हुन्छ भने प्रतिदिन २६ हजार टन प्लास्टिकजन्य फोहोर जम्मा हुने गर्दछ । त्यस्तो फोहोर आधा भन्दा बढी नदीहरुमा फ्याँक्ने गरिएको छ ।
केही वर्षअघि नेपालमा पनि यस्ता नियम ल्याइएको थियो । नेपालमा पनि २० माइक्रोन भन्दा कमका प्लाष्टिक झोला वा प्लाष्टिकका सामग्री प्रयोग गर्न बन्देज लगाइएको थियो ।
तर यो नियमलाई प्रभावकारी रुपमा लागू गर्न नसकेर हो वा अनुगमन नभएर हो, नियममै मात्र सीमित भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय