कुमारीको इनारमा टेकेको भन्दै फेरी विवादमा गायक प्रकाश सपुत
SamacharDesk – बिराज | २०८० मङ्सिर १८, सोमबार

बेला बेलामा विभिन्न कारणहरुबबाट विवादमा आइरहने गायक प्रकाश सपुत फेरी एक पटक विवादित बनेका छन् । उनको एउटा म्यूजिक भिडियोको छायाङ्कनको दृश्य अहिले सार्वजनिक भएपछि सपुत फेरी विवादमा तानिएका हुन् ।
हाल सामाजिक संजालमा भाइरल बनिरहेको उक्त दृश्यमा गायक प्रकाश सपुतको साथमा मोडल जुना विश्वकर्मा वसन्तपुरस्थित कुमारी घर अगाडी रहेको इनारमाथि चढेर नाचिरहेका छन् ।
जिवीत देवी कुमारीको लागि चाहिने चोखो पानी लिने इनारमा खुट्टाले टेकेको भन्दै अहिले सामाजिक सन्जालभरी सपुतलाई गालीको वर्षा भएको छ । सपुतलाई मात्र होइन, छायाङ्कनको अनुमति नै किन दिइयो भन्दै काठमाडौं महानगरपालिका र वडा कार्यालयलाई पनि गाली गरिँदैछ ।
घटना अहिले सार्वजनिक भएको छ र गाली पनि अहिले गरिँदैछ । तर यो गीतको छायाङ्कन भएको भने अहिले होइन । यो गीतको छायाङ्कन सम्पन्न भएर म्यूजिक भिडियो सार्वजनिक भएकै ६ महिना भइसकेको छ ।
उक्त दृश्य प्रकाश सपुत, खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीका गीत ‘कमाउने नि हो, रमाउने नि हो’ को हो, जुन गीत गत जुलाई १२ मा युट्युबमा अपलोड भएको थियो ।
कमेडियन अपुर्व क्षितिज सिंहले नेवार परम्परा इहि (बेलविवाह) लाई लिएर भद्दा मजाक गरे भनेर उजुरी पर्यो र उनलाई दण्ड, जरीवाना भयो । यस्तै आक्रोश अहिले प्रकाश सपुतमाथि देखिएको छ ।
कुमारी घर भित्रै थियो इनारः
अब अरु कुरा भन्दा अघि उक्त इनार र त्यसको अवस्थाबारे चर्चा गरौं ।
कुमारी घरका चिताइदार गौतम शाक्यका अनुसार ९० साल अघिसम्म कुमारीको नित्य पूजा आदिको लागि सोही इनारबाट पानी लिने गरिन्थ्यो भने अहिले भित्रै धारा जडान भएपछि धारामै चोखो पानी लिने गरिएको छ । अहिले पनि धारामा पानी नआउँदा सोही इनारमा चोखो पानी लिने गरिएको छ ।
९० सालको भूकम्प अघिसम्म सो भाग कुमारी घर भित्रै रहेको पनि शाक्यले बताए । ९० सालको भूकम्प पछि मात्रै सो इनार अहिलेको खुल्ला स्वरुपमा आएको शाक्यले बताए ।
त्यो इनार लगायत अहिले स्कूलको भवन रहेको भागसम्म पनि कुमारी घर भित्रै थियो । त्यो भागलाई अहिले पनि कुमारी चोक नै भन्ने गरिन्छ ।
वर्षको दुई पटक कुमारीको वर्षवर्धन पूजा गरिँदा सो इनारमा पनि पनि पूजा गर्नुपर्ने परम्परा आजसम्म पनि निरन्तर रहेको शाक्यले बताए ।
यस किसिमको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको इनारमा प्रकाश सपुतले मात्र चढेर नाचेका छैनन् । साँझतिर हेर्न गएमा त्यहि इनारमा बसेर चुरोट तान्ने, चिया पिउनेको भीड नै हुन्छ । यति मात्र होइन, राजनीतिक कार्यक्रम, सभाहरु हुँदा सोही इनारलाई स्टेज बनाएर माथि चढिन्छ र भाषण ठोकिन्छ ।
इनारको सुरक्षामा कसैको चासो छैन:
देशकै पहिचान बनेको जिवीत देवी कुमारीसँग प्रत्यक्ष रुपमा जोडिएको यस इनारमाथि मान्छेहरुको यस्तो व्यवहार देख्दा आफुलाई निकै दुःख लाग्ने गरेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कुमारी घरका चिताइदार शाक्य बताउँछन् ।
आफुले सिक्रि बाँधेर अथवा कुनै किसिमले बार लगाएर यस इनारको सुरक्षा गरिदिन भनेर काठमाडौं महानगरपालिका अन्तर्गतको हनुमानढोका दरवार संरक्षण कार्यक्रमलाई पटक पटक आग्रह गर्दा पनि केही सुनुवाई नभएको शाक्य भन्छन् ।
‘हरिकुमार श्रेष्ठदेखि उदय पसःखलः, नरेन्द्र विलाश बज्राचार्य, रोशन शाक्य कसलाई मात्र भनिन मैले । सबैले हुन्छ हुन्छ भन्छन् । काम चाहिँ आजसम्म भएको छैन’ शाक्य भन्छन् ।
हनुमान ढोका दरवार संरक्षण कार्यक्रममा रोशन शाक्य प्रमुख बनेर आउँदा यहाँ बार लगाउन भनेर इस्टिमेट समेत भइसकेको तर काम भने नभएको गौतम शाक्य बताउँछन् ।
चैतदशैं र बडादशैंमा बलि पूजा गर्नुपर्ने इनारकै छेउमा रहेको विद्यालय भवनको तलको भागमा भने हनुमानढोका शार्दुल जंग गुल्मका सेनाले सिक्री बाँधेर सुरक्षित बनाएका छन् । अहिले बजेट नपुगेको र बजेट आएपछि इनारलाई पनि त्यसरी नै सुरक्षित बनाइदिने प्रतिवद्धता सेनाले जनाएको गौतम शाक्य बताउँछन् ।
गमलाले घेरीयो इनारलाईः
यो घटना भाइरल बनेपछि आजै (सोमबार मंसीर १८) मात्र इनार वरिपरि गमला राखिएको छ । तर यो पनि दीर्घकालीन समाधान भने होइन ।
इनार लगायत वसन्तपुर दरवारका अन्य क्षेत्र र गमलाको पनि सुरक्षाको लागि गुल्मका सेनाले सक्दो सहयोग पु¥याउने गुल्मपति प्रजापतिले बताए । दीगो सुरक्षाका सम्वन्धमा कुमारी घरका चिताइदार गौतम शाक्यसँग छलफल भएको प्रजापतिले बताए ।
‘गौतमजीसँग कुरा भएको हो, त्यहाँ सिक्रि बाँध्न, पोल गाड्न खन्नुपर्यो, बजेट नै चाहियो । हनुमानढोका दरवार संरक्षण कार्यक्रमसँग छलफल र समन्वय गर्दै हामीले सक्दो सहयोग गर्नेछौं’ प्रजापतिले भने ।
हरेक इनारको पूजा गरिन्छ काठमाडौं उपत्यकामाः
यो इनार मात्र होइन, काठमाडौं उपत्यकाभित्र इनारको साथै पानीको श्रोतलाई धार्मिक पक्षसँगै जोडेर लिने गरिन्छ ।
जेष्ठ शुक्ल षष्ठीको दिनमा त हरेक वर्ष इनार सफा गरी पूजा गर्ने परम्परा अद्यापि विद्यमान छ । विश्व सम्पदा क्षेत्रका भौतिक संरचनाको साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदामाथिको दुर्व्यवहार विरुद्ध कसैले उजुरी गरेमा उजुरी लाग्ने र उचित दण्ड जरीवाना समेत हुने कानूनविदहरु बताउँछन् ।
यसै सन्दर्भमा मिश्रको पिरामिड अगाडी अश्लिल फोटो खिचेको भन्दै एक मोडललाई गिरफ्तार गरिएको सन्दर्भ यहाँ उल्लेख गर्नु उचित होला ।
सन् २०२० डिसेम्बर ७ मा इजिप्टकी फेसन मोडल साथै इन्स्टाग्राम इन्फ्लुएन्सर सलमा अल सिमिलाई गिरफ्तार गरिएको थियो । उनलाई मिश्रको पिरामिड अगाडी बसेर अर्धनग्न फोटो खिचेको र सामाजिक संजालमा पोस्ट गरेको आरोप लागेको थियो ।
कुमारी घरको इनार वा यस्तै धार्मिक सांस्कृतिक सम्पदामाथि दुर्व्यवहारको आरोपमा प्रकाश सपुत वा अन्यलाई पनि दण्ड जरीवाना त हुन सक्ला । तर, समस्याको दीर्घकालीन समाधान भने यो पक्कै होइन ।
कानूनमा दण्ड, जरीवानाको व्यवस्थाको साथमा धार्मिक, सांस्कृतिक सम्पदालाई सुरक्षित बनाइनु अहिलेके अपरिहार्य आवश्यकता हो । आवश्यक सुरक्षा प्रदान गर्न सकेमा यस्तो घटना बारम्बार दोहोरिने छैन ।
Categorized in विचार