arin enterprises

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

SamacharDesk | २०८१ जेठ ८, मंगलबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।

दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले आजै अनुमति दिएको थियो ।

पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्दै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताउनुभएको छ।

सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो ।

प्रहरीको टोलीले पक्राउ पुर्जी थमाएर प्रक्रिया पूरा गरी कार्यालयबाट पक्राउ गरेको हो ।

Categorized in राष्ट्रिय