‘व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारिताको विकास नहुने’
SamacharDesk – बिराज | २०७८ जेठ १०, सोमबार

राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो ।
पत्रकार दबूका अध्यक्ष सुरजबीर बज्राचार्यबाट प्रेषित विज्ञप्तीमा राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने माग समेत गरिएको छ ।
मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको दबूको निष्कर्ष छ ।
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनादेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मको कालखण्डमा मातृभाषाको पत्रकारिताको अभ्यासबाट व्यवस्था परिवर्तनले मात्र मातृभाषा पत्रकारिताको विकास गर्न नहुने भनी प्रमाणित गरेकाे दबूको ठहर छ ।
‘मातृभाषाको पत्रकारिताको लागि सबै जातजाति, भाषाभाषीको उचित प्रतिनिधित्व, पहिचान र आत्मसम्मान हुने संघीय व्यवस्था हुनुपर्ने आवश्यकता रहेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
अहिलेसम्म राज्यको साथ र सहयोग भन्दापनि भाषिक चेत र संवेदना, पत्रकारहरुको लगनशीलता र समुदायको इच्छाशक्ति र सीमित सहयोगबाट मात्रै मातृभाषा पत्रकारिताको इतिहास सय वर्षको नजिक पुग्नु आदिवासी जनजातिमात्र नभई सबैका लागि गौरवको विषय भएको दबूले उल्लेख गरेको छ ।
२०७५ जेठ २ गते बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयोजनमा पहिलो मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको पनि दबूले स्मरण गराएको छ ।
सोही सम्मेलनबाट मातृभाषा पत्रकारिता दिवसलाई बृहत रुपमा मनाउँदै जाने निर्णय गरेको थियो । तर यस वर्ष कोरोना महामारीको अवस्थामा दिवसको अवसरमा भव्य समारोहको आयोजना नहुने भएको छ ।
यस वर्ष भर्च्युअल रुपमा कार्यक्रमको आयोजना गरी छैठौं मातृभाषा पत्रकारिता दिवस मनाउन लागिएको जानकारी पनि दबूले दिएको छ ।
पत्रकार दबूले प्रत्येक वर्षको वैसाख शुक्ल चतुर्दशीको दिनलाई मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ ।
विक्रम सम्वत १९८२ सालमा धर्मादित्य धर्माचार्यले बुद्धधर्म नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । सोही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ ।
मातृभाषा पत्रकारिताको शुरुवात गर्ने धर्मादित्य धर्माचार्यको जन्मदिन बैसाख शुक्ल चतुर्दशीमै मातृभाषा पत्रकारिता दिवसको साथमा धर्मादित्यको जन्मजयन्ती पनि मनाईँदै आएको छ ।
सोही क्रममा आउँदो मंगलबार जेठ ११ गतेका दिन छैठौं मातृभाषा पत्रकारिता दिवसमा पत्रकार दबूले भच्र्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
Categorized in समाज