रातो मच्छिन्द्रनाथ भोलि मच्छिन्द्रबहाल ल्याईँदै, आज बहालमा विशेष सरसफाई
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १६, मंगलबार

आज (मंगलबार) ललितपुर महानगरपालिका वडा नं.१९ स्थित मछिन्द्र बहालको चहल पहल नै बेग्लै छ ।
यहाँ आज वडाध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्यहरु, ललितपुर महानगर प्रहरी, नेपाल प्रहरी सबै मिलेर बहालको सरसफाई गरीयो । बहाललाई चिटिक्क बनाइयो ।
हेर्दैमा आकर्षक, शान्त यो बहाल सरसफाई पछि झन राम्रो देखिँदैछ ।
रातो मच्छिन्द्रनाथ वर्षको ६ महिना यो बहालमा विराजमान हुन्छन् ।
६ महिना बुंगमतिमा र ६ महिना यो बहालस्थित मन्दिरमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराउने परम्परा रहँदै आएको छ । यसै परम्पराको निरन्तरताको क्रममा भोलिबाटको ६ महिना रातो मच्छिन्द्रनाथ यसै मच्छिन्द्र बहालमा विराजमान हुनुहुनेछ ।
भोलि रातो मच्छिन्द्रनाथलाई यहाँ ल्याइने भएकोले नै आज सरसफाई गरिएको हो ।
सरसफाइ कार्यक्रममा टोल सुधार समितिका पदाधिकारी र सदस्यहरु, महिला समुहका पदाधिकारी र सदस्यहरु, लमपा १९ वडाका वडाध्यक्ष साथै सदस्यहरु, नगर प्रहरी, नेपाल प्रहरी र सरसफाइ कर्मीहरु मिलेर बहालको सरसफाई गरिएको थियो ।
लमपाकी उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले भक्तजनहरुलाई दर्शनको सहज होस् भनेर सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताइन् ।
‘यस्ता बहाल, चोकहरु हाम्रै सम्पदा हो । यसको सरसफाई, संरक्षणमा हामी सधैं सक्रिय छौं नै । भोलिबाट रातो मच्छिन्द्रनाथ यहाँ ल्याइने भएकोले आज विशेष सरसफाई गरिएको हो’ उपप्रमुख शाक्य बज्राचार्यले भनिन् ।
लमपा वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जनले मच्छिन्द्रबहाल वडाकै गर्व भएकोले यसको संरक्षणमा आफुले सक्दो प्रयास गरी नै रहने बताए ।
Categorized in स्थानीय