arin enterprises

टिभि च्यानलले नेपालभाषाका म्यूजिक भिडियोको रोयल्टी दिन सरोकारवालाको माग

SamacharDesk – बिराज | २०७७ माघ १६, शुक्रबार

निर्देशक तथा कलाकार सुरेन्द्र तुलाधरले टेलिभिजन च्यानलहरुले अब नेपालभाषाका म्यूजिक भिडियोहरुको प्रसारणवापत कलाकारलाई रोयल्टि दिन शुरुवात गर्नुपर्ने बताएका छन् ।

बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक तुलाधरले नेपालभाषाका म्यूजिक भिडियोको गुणस्तर उकास्नका लागि यस क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘एउटा म्यूजिक भिडियो बनाउन कम्तीमा ७०–८० हजार त खर्च हुन्छ, यो लगानी उठ्छ कसरी ?’ तुलाधरले प्रश्न गर्नुभयो । ‘टिभि च्यानलहरुले सानो रकमबाट भएपनि रोयल्टीको शुरुवात गरेमा कलाकारलाई ठुलै प्रोत्साहन हुनेछ ।’

रोयल्टीको शुरुवातको लागि कलाकार, पत्रकार सबै मिलेर कोष बनाउन सकिने सुझाव पनि तुलाधरले दिनुभयो ।

कार्यक्रममा निर्देशक तुलाधरले दुईवटा नेपालभाषाका र एउटा नेपाली गरी एकैपटक ३ वटा म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा अमृतरत्न शाक्यको रचना र वीरेन शाक्यको संगीत रहेको नेपालभाषाको गीत ‘जिउ ज्यान प्राण सकतां’ र सोही गीतको नेपाली भर्सन ‘जिउ ज्यान प्राण सारा’ सार्वजनिक गरिएको थियो । गीतमा विभिन्न गायक गायिकाहरुले आवाज दिएका छन् ।

गीतको भिडियोका परिकल्पनाकार दर्शनबीर शाक्य हुनुहुन्छ भने छायाङ्कन र दृश्य सम्पादन मनोजरत्न शाहीको रहेको छ । निर्देशन राजन शाहीले गरेका छन् ।

त्यस्तै कल्पना श्रेष्ठ र जितेन शाक्यले गाउनुभएको ‘दुनुगलंनिसें ल्यःम्ह’ पनि सार्वजनिक गरिएको थियो । यस गीतमा पनि शब्द अमृतरत्न शाक्य र संगीत वीरेन शाक्यकै रहेको छ ।

विश्वास बज्राचार्यले निर्देशन गर्नुभएको गीतमा छायाङ्कन र दृश्य सम्पादन विजन राज बज्राचार्यले गरेका छन् । अभिनय सुरज नापित र रजनी खड्गीको रहेको छ ।

Categorized in पेजथ्री