arin enterprises

स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र र पदक वितरण

SamacharDesk – बिराज | २०७९ पौष १७, आइतबार

नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणमा नामाङ्कनको प्रमाण पत्र र पदक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अवार्ड्स कार्यक्रमको आयोजक संस्था संसार क्रिएसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसनमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाण पत्र र पदक प्रदान गरेको हो ।

कार्यक्रममा जम्मा ३२ वटा क्याटगरीमा नोमिनेट भएकाहरुलाई प्रमाण पत्र र प्रदान गरेको हो । ३२ मध्ये ३१ वटा क्याटगरीमा १०/१० जना नोमिनेट भएका थिए भने देशभक्ति/धार्मिक गीतको विशेष क्याटगरीभित्र १५ जनालाई नोमिनेट गरिएको थियो ।

सोही कार्यक्रममै मुख्य कार्यक्रममा दिइने विभिन्न सम्मानको लागि निमन्त्रणा पत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा संसार तेज स्मारक कला सम्मानबाट सम्मानित हुने चार जना र संसार सप्तरंगी कला सम्मानबाट सम्मानित हुने ७ जना कलाकर्मीलाई खादा ओढाई निमन्त्रणा पत्र प्रदान गरिएको थियो ।

संसार तेज स्मारक कला सम्मानमा वरिष्ठ पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ संगीतकार साथै तबला बादक मनराजा नकर्मी र वरिष्ठ गायिक निशा देसारलाई सम्मान गर्न लागिएको छ ।

त्यस्तै संसार सप्तरंगी कला सम्मानबाट वरिष्ठ संगीतकर्मी रत्न बेहोशी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, संगीतकार एवम् संगीत संयोजक जुगल डंगोल, निर्देशक, कलाकार साथै संगीतकर्मी रामकृष्ण खड्गीलाई सम्मान गरिनेछ ।

सोही कार्यक्रममै संसार खोकना प्रतिभा कला सम्मान पनि घोषणा गरिएको थियो ।

वर्तमान समयमा निकै चर्चित रहेको नेपालभाषाको गीत ‘सालूगु गाचा’ को लागि विशेष सम्मान गरिने भएको छ ।

सालूगु गाचा गीतको म्यूजिक भिडियो निर्माण समूह कुटुपुखु भजन खलः, वाद्यवादक लक्ष्मीप्रसाद डंगोल, रचनाकार साथै संगीत सर्जक बिबेन्द्र डंगोल, संगीत संयोजक रोजमान महर्जन को साथमा अवार्डमा सहभागी खोकनाको एक मात्र समूह नित्यनाथ भजन खलःलाई खोकना प्रतिभा कला सम्मान दिने लागिएको हो ।

त्यसैगरी अवार्डमा दर्ता भएका गीतमध्येमा सबैभन्दा बढि म्यूजिक भिडियोको निर्देशन र कोरीयोग्राफी गरेकी आराध्यलक्ष्मी खड्गी, सबैभन्दा बढि गीत अपलोड भएको युट्युब च्यानल ज्योति म्यूजिक र युट्युबमा सबैभन्दा बढि हेरिएको राजमति कुमति (महिला भर्सन) लाई पनि विशेष सम्मान गरिने भएको छ ।

यस पटक लाइफ टाइम अचिभमेन्ट अवार्ड हास्य सम्राटको रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

कार्यक्रममा बोल्दै संसार क्रिएशनकी संस्थापक प्रेमाहा महर्जनले अवार्डमा जम्मा ८५ वटा म्यूजिक भिडियो दर्ता भएको जानकारी दिँदै नेपालभाषाको कला क्षेत्रलाई गति दिन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

संसार क्रिएशनका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले आउँदो माघ २९ गते अवार्ड्स वितरण कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न हुने जानकारी दिँदै कार्यक्रममा सहभागी हुने सबैलाई आह्वान गरे ।

यसैक्रममा यसै अवार्डको प्रचारात्मक कार्यक्रमको रुपमा आउँदो पुस ३० गते ज्ञानोदय स्कूल खोकनामा संसार अवार्ड कप फुटबलको पनि आयोजना गरिँदैछ ।

यस अवार्ड कार्यक्रमलाई चलचित्र र म्यूजिक भिडियो क्षेत्रकै सबैभन्दा ठुलो र लामो कार्यक्रमको रुपमा विश्व रेकर्ड दावी गरिएको छ ।

Categorized in पेजथ्री