arin enterprises

भक्तपुरमा नेपालभाषा शिरोमणि शर्माको शालिक राखिने

SamacharDesk – रक्षण राजाेपाध्याय | २०७८ भाद्र ७, सोमबार

भक्तपुरमा नेपालभाषा शिरोमणि स्वर्गीय रमापति राज शर्माको शालिक स्थापना गरिने भएको छ ।

स्वर्गीय शर्माको शालिक निर्माण पछि आज गाईजात्राको दिनमा भक्तपुर खौमास्थित उनकै घर अगाडी माल्यार्पण गरिएको छ ।

आज गाईजात्राको अवसरमा शर्माको शालिकलाई उनकै घर अगाडी राखेर उनकै परिवार सबैले माल्यार्पण गर्दै फुल गुच्छा पनि अर्पण गरेका थिए ।

माल्यार्पणपछि शालिकलाई भक्तपुरको सायाः (गाईजात्रा) रुटमा परिक्रमा पनि गराइएको थियो । तामाको र माटोको बसाः (साँढे) सँगै शालिकलाई नगर परिक्रमा गराइएको थियो ।

भक्तपुरमा गाईजात्राको दिनमा दिवंगतको सुगतिको कामना गर्दै यसरी बसाःसँगै दिवंगतको फोटो वा प्रतिमा नगर परिक्रमा गराउने गरिन्छ ।

स्वर्गीय शर्माकी ज्येष्ठ सुपुत्री मनोरमा शर्माले अब चाँडै नै उपयुक्त स्थान हेरेर शालिक स्थापना गर्ने बताउनुभयो ।

‘आज गाईजात्राको अवसरमा शालिकलाई नगर परिक्रमण गरायौं, अब बुवाको नेपाल भाषाको भाषाविज्ञान क्षेत्रमा योगदान, उहाँको विचारलाई अमर बनाइराख्न  उपयुक्त स्थानमा शालिक स्थापना गर्ने हाम्रो योजना छ’ स्वर्गीय शर्माकी सुपुत्री मनोरमाले भन्नुभयो ।

अन्दाजी २ फिट अग्लो शालिक मूर्तिकार अष्ट प्रजापति र पद्मेश प्रजापतिले बनाएका हुन् । 

Categorized in समाज