वीर र ट्रमामा फोहोर व्यवस्थापनमा सुधारका थप काम गर्न सुझाव
SamacharDesk – बिराज | २०८० फाल्गुण ५, शनिबार

काठमाडौं महानगरपालिका (कामपा) ले महानगर भित्रका विभिन्न अस्पतालहरुमा फोहोर व्यवस्थापनको अनुगमनलाई अहिले निरन्तरता दिइरहेको छ ।
काठमाडौं महानगरकी उप प्रमुखको नेतृत्वमा अनुगमन टोली दिनहुँ जसो अस्पतालहरुमा पुगेर अनुगमन गर्ने र आवश्यकता अनुसार सुझाव दिने वा कारवाही गर्ने गरिएको छ ।
अनुगमनकै क्रममा टोली शुक्रबार ४ गते काठमाडौंकै जेठो अस्पताल बीर अनि ट्रमा सेन्टर पुगेको थियो ।
दुबै अस्पतालमा आवश्यक अनुगमन त भयो नै तर, शुक्रबारको अनुगमनमा एउटा उत्सव पनि मनाइयो, ट्रमामा उपचाररत एक विरामीको जन्मोत्सव ।
उपचारको लागि सिन्धुपाल्चोकबाट काठमाडौं आएका एक विरामीको जन्मदिन परेको रहेछ । शारिरीक समस्या र टाढाबाट आई उपचारको लागि अस्पतालमा बस्नुपरेको पीडा बिर्सेर विरामी र विरामीका बुबा र दिदीहरु जन्मोत्सवमा रमाइरहेका थिए ।
सोही अवसरमा कामपा उपप्रमुख डंगोल र अनुगमन टोली त्यहाँ आइपुगे र विरामी र उनका परिवारसँगै जन्मोत्सवमा सहभागी भए ।
‘अस्पतालमा बस्दाको पीडा भुलेर, टाढाबाट काठमाडौँ आउनु पर्दाको समस्या र आर्थिक लगायत अभाव विर्सेर रमाउन सक्ने परिवार वास्तवमै प्रशंसाका पात्र हुन् । विभिन्न असहज परिस्थितिलाई सहजै सामना गर्न सक्ने विरामीका परिवारको हौसला अनुकरणीय लाग्यो’ उपप्रमुख डंगोलले भनिन् ।
ट्रमा र बीरको फोहोर व्यवस्थापनको अनुगमनको क्रममा अस्पतालहरुले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक लागेको डंगोलले बताइन् ।
‘सानातिना त्रुटि र छुटेका प्रक्रिया छन् । यी प्रक्रियालाई सुधार गरेर उत्कृष्ट र नमूना बनाउनु पर्छ’ उपप्रमुख डंगोलको नेतृत्वमा गएको अनुगमन टोलीले सुझाव दिएको छ ।
ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो ।
‘सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पुर्याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय हेरेका थियौँ । अभ्यास सन्तोषजनक नै छ । सुधारका केही ठाउँ पनि देखिएकाेमा सुधार गर्न अस्पताललाई भनेका छौँ ’ डंगाेलले भनिन् ।
सामान्य वेडहरु, सघन कक्ष र आकस्मिक कक्षहरु, चिकित्साबाट उत्पादन हुने फोहोर वर्गीकरणको प्रक्रिया, स्रोतमा वर्गीकरण भएको फोहोर ढुवानी गरेर निर्मलीकरण तथा भण्डारणसम्म पुर्याउने विधि, यस क्रममा अपनाइने सुरक्षाका उपाय आफुहरुले हेरेको डंगोलले जानकारी दिइन् ।
वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ ।
जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य बोतल ७ हजार ७०२ केजी, नफुटेका सिसा १ हजार ४४० केजी फोहोर छ ।
जसमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ । स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा दिइएका सुझाव हुन् ।
Categorized in स्थानीय