arin enterprises

दुई दशकपछि सुकुन्दा फेरी प्रकाशनमा

SamacharDesk – बिराज | २०७९ पौष १, शुक्रबार

रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाको वार्षिक पत्रिकाको पुनः प्रकाशन भएको छ । करीब दुई दशकदेखि बन्द रहेको पत्रिका क्याम्पसमा नेपालभाषा अध्ययनरत विद्यार्थीहरुले पुनः प्रकाशनमा ल्याएको हो ।

क्याम्पसमै आयोजित एक कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवाली, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीलगायतले संयुक्त रुपमा पत्रिकाको लोकार्पण गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले युवा विद्यार्थीहरुलाई राजनीतिक रुपमा चेतना दिनका लागिसमेत विभिन्न कलेजहरुमा गठन भएका साहित्यिक संस्थाहरु अहिले प्राय बन्द रहेकोमा चिन्ता व्यक्त गरे ।

त्यसैगरी, सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

डंगोलले भाषा विज्ञानको अध्ययन र अध्यापन गराउने क्षेत्रमा त्रिभुवन विश्वविद्यालयले बजेट निकासा नदिएको, विद्यार्थीहरुको लागि पाठ्यपुस्तक अभाव रहेकोदेखि अन्य व्यवस्थापकीय कमजोरी रहेको समेत औंल्याए ।

सोही कार्यक्रममा राष्ट्रिय भूमि आयोग काठमाडौंको अध्यक्ष पदमा नियुक्त हुनुभएका श्यामकृष्ण प्रजापति, खोखो खेलका प्रशिक्षक विक्कीराज महर्जन, सेपाटार्को विधाकी अन्तर्राष्ट्रिय खेलाडी सुमित्रा डंगोल, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य तथा टोखा नगरपालिकामा निर्वाचित वडासदस्य अमर डंगोललाई सम्मान गरिएको थियो ।

विभिन्न लेख रचना समेटिएको पत्रिकालाई डंगोल नेतृत्वको १९ सदस्यीय कार्यसमितिले प्रकाशन गरेको हो ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, प्रा. डा. चन्द्रमान बज्राचार्य, नेवाः विद्यार्थी युनियनका रिदेन महर्जन, गोरखापत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक पुष्करभक्त माथेमा, अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी, पब्लिक युथ क्याम्पसको सँझ्याः साहित्य पालाका अध्यक्ष मनोज डंगोल, सञ्चारकर्मी कुमार रंजित, भाषासेवी विद्यादेवी चित्रकार, काठमाडौं महानगरपालिकास्थित शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Categorized in समाज