arin enterprises

उपमेयर सुनिता डंगोल बजार अनुगमनमा

SamacharDesk | २०७९ आश्विन ११, मंगलबार

नेपालीहरुको महान चाड दशैं शुरु भएसँगै बजार अनुगमन पनि तीब्र बनाइएको छ ।

आज काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको संयोजनमा दसैं लक्षित बजार अनुगमन गरेको छ । अनुगमनको सुरुवातमा डंगोलका टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ ।

टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे÷नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनु भयो । उहाँले कतिपयलाई दर्ता गराउने कुराहरु नै थाहा नभएको र उनीहरुलाई सचेत गराइएको बताउनु भयो ।

उहाँले बेच्ने मात्र नभइ किन्ने मानिसहरुमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताउनु भयो । अनुगमनका क्रममा सरकारीस्तरबाट संचालिन खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो ।

जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी तर्फबाट वागमती प्रादेशिक प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले नबेचेको दाबी गर्नुभयो ।

उत्पादित मिति नै मेटिएको खाद्य सामग्री भेटियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा कतिपय सामान उत्पादित कम्पनीबाट आउँदै मेटिएको हुने र विभागले भने उपभोक्तालाई अखाद्य सामग्री नबेचेको बताउनु भयो ।

उहाँले विभागबाट भएका कमजोरीलाई आगमी दिनमा सच्याउने प्रतिवद्धता जनाउनु भयो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्तालाई खाद्य सामग्री प्रदान गर्ने कुरामा राज्य जिम्मेवार नबनेको आरोप लगाउनु भयो ।

उहाँले महानगरले गरेको आजकै अनुगमनमा पनि सरकारी संस्थाहरुमा नै अखाद्य सामग्री फेला परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिएको उल्लेख गर्दै यस्ता सामग्री बिक्री गर्न कानूनले नै वर्जित गरेको बताउनु भयो ।

Categorized in स्थानीय