arin enterprises

विवाद निरुपण गर्दा मेलमिलापलाई प्राथमिकतामा राख्नुपर्छ: उपमेयर डंगोल

SamacharDesk | २०८१ श्रावण २५, शुक्रबार

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित स्थानीय विवाद र निरुपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकारबाट स्थानीय विवादहरु निरुपण गर्ने हो भने मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुंग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरुपण गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेलमिलाप केन्द्रको हामीले विवादलाई हेरिरहँदा, न्यायिक समिति वा भनौँ स्थानीय सरकारमा जुडिसियल न्यायिक अधिकार दिइसकेपछि यसका विविध पक्षहरु छन् । जसको कारणले गर्दा हामीले अहिले न्याय निरुपण गरिरहँदा मेलमिलापलाई पनि प्राथमिकतामा राखेका छाँै ।

हामीले सबै कालो अक्षरमा जेजे छन्, त्यो मात्र कुरा हेर्दैनौँ । न्यायिक समितिले व्यवहारिक पक्ष के रहेको छ भन्नेकुरालाई पनि उत्तिकै महत्व दिइरहेको छ ।"

महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरुपणलाई छिटो, छरितो बनाउनमा पनि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशत भन्दा धेरै मुद्दाको निरुपण गरेको बताउनु भयो । ७० प्रतिशत भन्दा बढी निरुपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डंगोलको भनाइ छ । 

उहाँले भन्नुभयो, "अहिले मेलमिलापलाई अघि बढाइरहँदा जुन मेलमिलापले सन्तुष्टि दिन्छ वा विवाद निरुपणमा महत्वपूर्ण भुमिका खेल्छ त्यो निर्णय गर्दा त्यसले ल्याउने अझ धेरै ठूलो विवादहरु ल्याउन सक्छ ।

निर्णय गरिरहँदा एउटा पक्षको जित हुन्छ भने अर्को पक्षको हार हुन्छ । एउटाको जित र अर्को पक्षको हार हुने बित्तिकै त्यहाँ फेरि विवादले अर्को रुप लिन्छ ।

घर र टोलबाट शुरु भएको विवाद बिस्तारै मुद्दा थपिँदै थपिँदै सर्वोच्चसम्म पुग्छ । स्थानीय विवाद स्थानीय सरकारले नै निरुपण गर्दा मेलमिलापलाई प्राथमिकतामा राख्नुपर्छ ।

जसले गर्दा विवादलाई जरैदेखि उखेल्ने भनेको मेलमिलापको माध्यमबाट हुनसक्छ । त्यो हामीले लागू गरिरहेका छौँ ।"

उपप्रमुख डंगोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको बताउनु भयो ।

उहाँले दिगो रुपमा विवादलाई निरुपण गर्नका लागि मेलमिलाप मात्रै एउटा विकल्प हुनसक्ने पनि बताउनु भयो ।

उहाँले अर्को वर्ष ८० प्रतिशत भन्दा बढी मेलमिलापबाट विवाद टुंग्याउने स्थितिसम्म पुग्ने दाबी गर्नुभयो । वडा तहमा मेलमिलाप केन्द्रका मााध्यमबाट ९० प्रतिशत भन्दा बढी विवाद समाधान गरिसकेको पनि बताउनु भयो ।

उपप्रमुख डंगोलले न्यायिक समितिले ४३ हजार भन्दा बढी महानगरवासीलाई वडा—वडामा निःशुल्क कानूनी सहायता दिएको बताउनु भयो ।

एक महिनामा ३२ सय करिव महानगरवासीले निःशुल्क कानूनी सहायता लिएको बताउनु भयो । अबका मुद्दाहरु वडा तहबाटै ई.इजलासबाट तथ्यांक संकलन गर्ने काम शुरु गर्ने पनि बताउनु भयो ।

Categorized in स्थानीय