arin enterprises

जसपा महानगर समितिमा सुरजको नेतृत्त्व

SamacharDesk – बिराज | २०७९ आश्विन ११, मंगलबार

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने भएका छन् ।

सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रममा जसपा काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवारले महर्जनको अध्यक्षतामा महानगर समितिको नयाँ कार्य समिति घोषणा गरेका थिए ।

समितिको पुनर्गठित कार्य समितिको चार जना उपाध्यक्षमा मनोज कर्माचार्य, विक्रम शाही, कृष्णकुमार मानन्धर र सुरेन्द्र माली रहेका छन् । त्यस्तै सचिवमा कविन्द्रनाथ कपाली चयन हुँदा सह सचिवको जिम्मेवारी राजिव किलंनं श्रेष्ठ, जेनी डंगोल र अनिता आचार्य पोखरेलले पाएका छन् ।

कोषाध्यक्षमा सुनिल महर्जनलाई चयन गरिएको छ । महानगरको ३२ वटै वडामध्ये प्रत्येक वडाबाट एक एक जना प्रतिनिधि पनि कार्य समितिमा समावेश गराइएको छ ।

आउँदो पाँच वर्षमा तेब्बर मत ल्याउने

जसपा काठमाडौं महानगर समितिका नयाँ अध्यक्ष सुरज महर्जनले आउँदो पाँच वर्षमा जसपाले अहिलेको भन्दा तेब्बर मत हासिल गर्ने स्थानमा पुर्‍याउने घोषणा गरेका छन् ।

समिति पुनर्गठन कार्यक्रममा अध्यक्ष घोषणा भइसकेपछि बोल्दै महर्जनले जसपाले ५ वर्ष अघि भन्दा अहिले करीब दोब्बर मत पाएको अवस्थामा ५ वर्ष पछिको निर्वाचनमा अझ तेब्बर मत ल्याउँदै तेश्रो ठुलो दल बनाउने योजनासहित अघि बढ्ने घोषणा गरे ।

साथै आफुहरुले उठाउँदै आएको मुद्दा नै बोकेर स्वतन्त्र उम्मेदवारले काठमाडौं महानगरको निर्वाचन जितेको दावीसमेत महर्जनले गर्नुभयो ।

‘हामीले नै उठाउँदै आएको मुद्दा बोकेर स्वतन्त्रहरुले महानगरमा काम गर्ने अवसर पाएको छ । आउँदो ५ वर्षको स्थानीय निर्वाचनमा जसपाको उम्मेदवारले काठमाडौं महानगरको निर्वाचन जित्ने हैसियत बनाउने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु’ महर्जनको भनाई थियो ।

आफु विगतमा पार्टीमा आवद्ध हुनु अघि स्थानीय मुद्दाहरु बोकेर अघि बढिरहँदा अभियानमा अन्य पार्टीको कोही नदेख्ने र जसपाकै कार्यकर्ताहरुलाई मात्र अभियानमा देखेको अनुभव महर्जनले सुनाए । मुद्दालाई स्थापित गर्न र अभियानलाई सशक्त बनाउन राजनीतिक रुपमा पनि सशक्तिकरण हुनुपर्ने देखिएपछि आफु पार्टीमा आवद्ध भएको उनले सुनाए ।

देशको ० दशमलव ५ प्रतिशत मात्र भूमि रहेको काठमाडौंमा ६० लाख बढि जनसंख्या बसोबास गरिरहेको अवस्थामा मूलुकको सर्वाङ्गिण विकासका लागि संघीयताको पूर्ण कार्यान्वयन गर्नुको विकल्प नरहेको विचार राख्दै महर्जनले संघीयता र पहिचानको मुद्दा बोक्ने पार्टी जसपा मात्रै रहेको दावी गरे ।

‘आफ्नो ठाउँको विकास आफैंले गर्न पाउनुपर्यो, स्वशासन चाहियो । यसको लागि संघीयतालाई पूर्ण कार्यान्वयनमा लग्नै पर्छ । अहिले संघीयताको मुद्दा बोकेको पार्टी भनेको जसपा मात्रै हो’ महर्जनको दावी थियो ।

संघीयता र पहिचानको मुद्दालाई अघि बढाउन पनि महानगर समितिले भूमिका खेल्ने महर्जनले प्रतिवद्धता व्यक्त गरे ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082