विश्व नेवाः संगठन नेपाल शाखामा सुरेन्द्रकाे नेतृत्त्व
SamacharDesk – बिराज | २०७९ बैशाख १२, सोमबार

विश्व नेवाः संगठन नेपाल शाखाको अध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न संगठनको प्रारम्भिक साधारण सभा र अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमेशमान मुनिकार, राधेश्याम त्वानाबासु र श्यामप्रसाद श्रेष्ठ चयन भएका छन् । महासचिवको जिम्मेवारी सुदय राज शिलाकारले पाएका छन् भने सचिवमा कस्तुरी श्रेष्ठ चयन भइन् ।
कोषाध्यक्षमा अञ्जना ताम्राकार र सह कोषाध्यक्षमा मंगलरत्न ताम्राकार पनि निर्विरोध निर्वाचित भइन् ।
कार्य समिति सदस्यमा शान्ति वैद्य, शोभा श्रेष्ठ, भागवत नरसिंह प्रधान, विकास महर्जन, खगेन्द्र प्रसाद जोशी, धर्मदेव महर्जन, पद्मलक्ष्मी ताम्रकार चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि सभालाई सम्वोधन गर्दै श्रेष्ठले विश्वभरिका नेवाःहरुसँग समन्वय र सहकार्यलाई बढाउँदै नेपालको सामाजिक, सांस्कृतिक उत्थानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस अघि सभाको उद्घाटन सत्रमा संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले सभाको समुद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल खाल्डोमा दुई हजार वर्ष अघि नै नेवाः सभ्यताको विकास भइसकेको भएपनि राज्यसत्ताको दमनका कारण नेवाः लगायत आदिवासी जनजाति समुदाय पछि परेको विचार राख्नुभयो ।
सोही कार्यक्रममा नेवाः अधिकारकर्मी डा. महेशमान श्रेष्ठलाई ‘हलिं नेवाः, नेपाः’ सम्मानबाट सम्मानित गरिएको थियो । नेवाः अधिकारको आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै डा. श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेवाः देय् दबूका निवर्तमान अध्यक्ष नरेश ताम्रकार, विश्व नेवाः संगठन नेपाल च्याप्टरका पुर्व अध्यक्ष नरेन्द्रभक्त हाडा, केन्द्रीय उपाध्यक्ष रजनी प्रधान, केन्द्रीय महासचिव समन्त बज्राचार्यलगायतले मन्तव्य राखेका थिए ।
निर्वाचन प्रकृया शुरु हुन अघि सभाको बन्द सत्रमा सचिव रत्न काजी महर्जनले संगठनको प्रगति प्रतिवेदन र साविक कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने साविक अध्यक्ष शाक्य सुरेनले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
Categorized in समाज