असमन्जस र अन्योलबीच शालिनदिमा स्वस्थानी व्रत शुरु हुँदै
SamacharDesk – बिराज | २०७७ माघ ९, शुक्रबार
मेला गर्ने वा नगर्ने भन्ने अन्योलका बीच साँखुको शालिनदिमा यस वर्षको स्वस्थानी व्रत कथा शुरु हुँदैछ ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले विहिबार साँखुमा पत्रकार सम्मेलन गर्दै आउँदो माघ १५ बाट माधवनारायण स्वस्थानी व्रत शुरु हुन लागेको जानकारी गराएको छ ।
तर यस वर्ष भने कोभिड महामारीका कारण भक्तजनलाई दर्शनका लागि शालिनदि नआउन समितिले आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले व्रतालुको स्वास्थ्य सुरक्षाको लागि दर्शनको लागि साँखु नआउनको लागि आग्रह गर्नुभयो ।
‘सरकारले सबै देवालय, सिनेमा हल आदिसम्म पनि संचालन गरीसकेको अवस्थामा हामी कसैलाई नआउ भन्न सक्दैनौं, स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै परम्परा जोगाउनुछ,’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सकेसम्म साँखु नआउनुहोला, हामी यत्ति भन्न सक्छौं ।’
समितिले यस वर्ष मेला संचालन गर्ने लक्ष्य नलिएको बताएको छ । तर साँखु आउनेहरुका लागि टिका र प्रसाद स्वयम्सेवकबाट वितरण गर्ने गरी टाढैबाट दर्शनको व्यवस्था मिलाइने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।
आउँदो माघ १५ बाट शुरु भई एक महिनासम्म संचालन हुने स्वस्थानी व्रतका व्रतालुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै समितिले यस वर्ष विभिन्न मापदण्ड तोकेको छ । यस वर्ष एक दिन अगाडी नाम दर्ता गराएर व्रतमा सहभागी हुन नपाइने भएको छ ।
व्रतमा सहभागी हुनका लागि माघ १० गतेदेखि १२ गतेसम्मको मिति तोकिएको छ भने नाम दर्ता गराउनेको माघ १३ गते समितिले तोकेको स्थानमा पिसिआर वा एन्टिजेन परिक्षण गरिनेछ ।
यसको साथै व्रतमा वस्नको लागि यसपालि निमोनियाको लक्षण नभएको प्रमाणित गर्न एक्सरे रिपोर्ट अनिवार्य गरिएको छ । व्रतको लागि स्थानीयलाई नै प्राथमिकता दिइने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।
यस पटक माघ मेलाको लक्ष्य नलिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
व्रतालुलाई दर्शनार्थीहरुबाट टाढा राख्न स्कर्टिङको व्यवस्था गरिने पनि बताइएको छ । व्रतालुको वासको व्यवस्था समिति स्वयम्ले गर्ने, व्रतालुको सहयोगको लागि पनि घरपरिवार आउन नपाइने आदि लगायतका विभिन्न सावधानी अपनाईने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
सचेतनामूलक सूचनासहितको होर्डिङ बोर्डहरु विभिन्न स्थानमा राख्ने योजना समितिले बनाएको छ । स्यानिटाइजर र मास्क निःशुल्क वितरणको लागि पनि समिति प्रयासरत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
स्वस्थानी व्रत कथामा उल्लेख गरीएको नवराजको राज्य लावण्य देशको रुपमा साँखुलाई मानिआएको छ । परापूर्वकालमा पार्वतीले यहि स्वस्थानी व्रत बसी महादेव वर पाएको धार्मिक विश्वास रहेको छ ।
Categorized in संस्कृति