arin enterprises

स्वनिगःले शुरु गर्यो इलेक्ट्रीक स्कुटीको विक्रि वितरण

SamacharDesk – बिराज | २०७९ भाद्र १९, आइतबार

स्वनिगः अटो प्रा.लि.ले इलेक्ट्रीक स्कुटीको साथै बाइकको विक्रि वितरण शुरु गरेको छ ।

स्वनिगः इन्भेस्टमेन्ट ग्रुप अन्तर्गतको कम्पनी स्वनिगः अटो प्रा.लि.ले महाराजगंजमा आफ्नो पहिलो शोरुमको शुरुवात गर्दै पियोर र फ्यूचर ग्रिन कम्पनीका इलेक्ट्रीक सवारी साधनको विक्रि वितरण शुरु गरेको हो ।

एक कार्यक्रमका बिच स्वनिगः इन्भेस्टमेन्टका बोर्ड अध्यक्ष सुरेश प्रधानले शोरुमको विधिवत् रुपमा समुद्घाटन गरेका थिए ।

हाल शोरुममा १५ सय वाटदेखि २२ सय वाटसम्मका स्कुटी र बाइक उपलब्ध रहेको र तिनकाे मूल्य एक लाख ९९ हजारदेखि ३ लाख ९९ हजारसम्म रहेको स्वनिगः अटोका प्रमुख कार्यकारी अधिकृत विनय श्रेष्ठले जानकारी दिए ।

‘हामीले उच्च गुणस्तरको भारतीय विद्युतीय सवारीहरु ल्याएका छौं । हाल हामीसँग उच्च क्षमताको स्कुटी र बाइक रहेका छन् । विद्युतीय साइकल पनि चाँडै नै ल्याउँदैछाैं’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

ग्रिन फ्यूचर कम्पनीको ट्र्याक्सन स्कुटीमा ब्याक गियरको समेत सुविधा रहेको श्रेष्ठले बताए ।

शोरुमको समुद्घाटनको अवसरमा ८ हजार रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको छ । साथमा नजिकिँदै गरेको दशैं र तिहारको अवसरमा पियोर कम्पनीको हेलमेट, टिसर्ट, क्याप, किरिंग र विनचिटरसमेत उपहार राखिएको छ ।

पुराना पेट्रोलका बाइक वा स्कुटीसँग एक्सचेन्जको सुविधाको साथमा पुरानो साधनको मूल्यमा ८ हजार रुपैयाँ थपको सुविधासमेत राखिएको छ ।

यसैगरी फाइनान्सको सुविधासमेत उपलब्ध रहेको स्वनिगः इन्भेस्टमेन्टका शेयर होल्डर संयोजक दिपक तुलाधरले जानकारी दिए ।

निकट भविष्यमै शाखाहरु पनि विस्तार गर्दै जाने योजनामा आफुहरु रहेको तुलाधरको भनाई छ । हाल काठमाडौंको भित्रि वस्तीमा शाखा विस्तार गर्ने योजना रहेको र भक्तपुरमा शाखा खोल्नका लागि पनि कुरा हुँदै गरेको तुलाधरले जानकारी दिए ।

Categorized in बिजनेस